भोलिदेखि बीरगन्जका विद्यालयहरु खुल्दै

बीरगन्ज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् ।

बीरगन्ज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रसँग अनुमति माग्दा सकारात्मक संकेत देखाएपछि भोलिदेखि विद्यालयहरु खुल्ने भएका हुन् । केन्द्रले मौखिक रुपमा अनुमति दिएपनि लिखित रुपमा भोलि मात्र बीरगन्ज महानगरपालिकालाई पत्राचार गर्ने महानगरपालिका स्रोतले बताएको छ ।

लामो समयदेखि बन्द रहेका विद्यालयहरुमा अहिले प्रथम चरणमा कक्षा ८, ९ र १० सम्मका कक्षाहरु मात्र सुचारु गर्न भनिएको बीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले बताए । तर, विद्यालय सञ्चालन गर्दा अनलाइनको पहुँच भएकाहरुलाई अनलाइनमै र बाँकीलाई अभिभावकको स्वीकृति पश्चात विद्यालयमा बोलाएर पढाउन निर्देशन दिइएको उनले बताए ।

साथै, विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपले पूरा गर्नुपर्ने समेत निर्देशन दिइएको मेयर सरावगीले जानकारी दिए ।

‘विद्यालय खोल्न भोलिदेखि जिल्ला संकट व्यवस्थापन केन्द्रले अनुमति दिएको छ । अहिले प्रथम चरणमा कक्षा ८ देखि १० सम्मका कक्षाहरु मात्र सञ्चालन गर्नुपर्ने हामीले विद्यालयहरुलाई निर्देशन दिएका छौं,’ मेयर सरावगीले भने, ‘तर, विद्यालय सञ्चालन गर्दा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण नियमहरु पालना गर्नुपर्ने हुन्छ । साबुन पानीले हात धुने व्यवस्थापनदेखि मास्क, सेनीटाईजरको समेत व्यवस्था गरी एउटा बेन्चमा बढीमा दुई जना मात्र राखेर विद्यालय सञ्चालन गर्न भनेका छौं ।’

उनले एउटा कक्षामा विद्यार्थी संख्या धेरै भएमा विद्यालयहरुले छुट्टा-छुट्टै सेक्सनको व्यस्थापन गरी आवश्यक परे दुई सिफ्टमा समेत पठनपाठन गराउने निर्देशित गरिएको बताए । अन्य कक्षाको सन्दर्भमा कुनै जोखिम नदेखिए र नबढे क्रमश कक्षाहरु थप हुँदै जाने मेयर सरावगीले भने ।

निजी विद्यालयहरुको छाता संगठन प्याब्सन बीरगन्ज महानगर कमिटिका अध्यक्ष आलोककुमार चौरसियाले निर्णयलाई स्वागत गर्दै बीरगन्ज महानगरपालिकाको पहल सकारात्मक रहेको बताए । विद्यालय सञ्चालन गर्दा विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै पूर्ण रोपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेर विद्यालय सुचारु गरिने उनले दाबी गरे । चौरसियाले विद्यालयहरुको नियमित अनुगमन समेत गरिने बताए । Nepal post daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close