
काठमाडौं — भक्तपुरको थिमीस्थित बैंक्वेट होटलमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा पर्सा जिल्लाबाट दुई जना पत्रकार सम्मानित भएका छन्। सम्मानित हुनेमा यस अनलाइन प्रहार डेली पोर्टलका सम्पादक राहुल कुमार गुप्ता र सौर्य दैनिकका संवाददाता पवन प्रसाद साह रहेका छन्।
दुबै पत्रकारलाई सम्मानपत्र, मायाको चिन्ह तथा प्रेस ज्याकेट प्रदान गरी सम्मान गरिएको हो।
सम्मेलन नेवाः पत्रकार राष्ट्रिय दबू, सार्क जर्नालिस्ट फोरम, र **नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)**को सहकार्यमा सम्पन्न भएको हो। सम्मेलनको समापन कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मातृभाषा पत्रकारिता स्थानीय संस्कृति र भाषाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै मातृभाषामा सञ्चार गर्न पत्रकारहरूलाई आग्रह गरे।
उनले भने, “मातृभाषामा समाचार सम्प्रेषण गर्नु स्थानीय समुदायको भावना अभिव्यक्त गर्ने सशक्त माध्यम हो। यसले पाठक–स्रोतासँग गहिरो सम्बन्ध कायम गर्छ।”
कार्यक्रममा सार्क जर्नालिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, सचिव अब्दुल रहमान, भारत बिहार च्याप्टरका अध्यक्ष शशिभूषण, र नेवा पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
सम्मेलनमा भारत, बंगलादेश लगायत विभिन्न देशका मातृभाषी पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।