
राहुल गुप्ता
पर्सा जिल्लाको SEE परीक्षा समन्वय समितिले विभिन्न परीक्षा केन्द्रहरूमा देखिएका समस्या पहिचान गरी सुधारका लागि ठोस कदम चालेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको समन्वय समितिको बैठक बसी विभिन्न निर्णय गरिएको छ ।
SEE परीक्षा, २०८१ को पहिलो र दोस्रो दिनको परीक्षाको अनुगमनबाट परीक्षा अनुशासित एवं मर्यादित रहेको पाइएको छ ।
अनुगमनका क्रममा माइस्थान विद्यापिठ माध्यमिक विद्यालय बीरगंजका केन्द्राध्यक्ष मुनिलाल कर्णले परीक्षाको मर्यादा र अनुशासन परिपालनामा पर्याप्त सावधानि र सतर्कता नअपनाएको देखिएकोले निजलाई सचेत गराइएको छ । साथै सो केन्द्रका सहायक केन्द्राध्यक्ष जयप्रकाश सर्राफको गतिविधि संदेहास्पद देखिएकोले उनलाइ परीक्षा अवधिभर उक्त परीक्षा केन्द्रमा प्रवेशमा रोक लगाइएको छ।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटा परीक्षा केन्द्रमा अभिभावक संघ लगायतका अनधिकृत व्यक्तिहरुको प्रवेश देखिएकोले केन्द्रका केन्द्राध्यक्षलाई लिखित रुपमा ध्यानाकर्षण गराउने र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी केन्द्रमा निरिक्षकका रुपमा खटिएका शिक्षक लालबाबु यादवले परीक्षाको मर्यादा विपरित कार्य गरेकोले निजलाई निरीक्षकको जिम्मेवारीबाट हटाइएको छ।
त्यस्तै सिद्धार्थ माध्यमिक विद्यालय चिनी कारखाना बीरगंज परीक्षा केन्द्रका संस्थागत विद्यालयमा समेत अध्यापन गराउने धरमेन्द्र पाण्डे र रामबालक यादवलाई निरिक्षकको जिम्मेवारीबाट हटाउन केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ ।श्री द्वारदेवी मा.बि. अलौ परीक्षाकेन्द्र बाहिर अनावश्यक भिडभाड देखिएकोले सो भिडभाड हटाउन केन्द्रध्यक्षलाई पत्राचार गर्ने र सो कार्यको लागि सुरक्षाकर्मीलाई निर्देशन दिइने छ।
सबै परीक्षा केन्द्रहरुमा कडा रुपमा चेकजाँच गर्ने गराउने व्यवस्थाका लागि केन्द्राध्यक्षलाई ध्यानाकर्षण गराउने र सो कार्यमा सहजीकरण गर्न सुरक्षाकर्मीहरु समेत परिचालन गर्ने निर्णय भएको छ ।
श्री सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालय बीरगंज परीक्षा केन्द्रमा नियमित तर्फका परीक्षार्थीहरुलाई ग्रेडबृद्धी तर्फको प्रश्नपत्र दिएको र ग्रेडबृद्धी तर्फका परीक्षार्थीहरुलाई नियमित तर्फको प्रश्नपत्र वितरण गरिएको पाइएकोले त्यस्ता कार्य आगामी परीक्षामा हुन नदिन निर्देशन दिदै प्रश्नपत्र वितरण लगायत परीक्षा व्यवस्थापनमा सहजीकरण गर्न स्थानीय तहको शिक्षा शाखाका पदाधिकारीहरुलाई समेत परीचालन गर्ने निर्णय भएको छ ।
परीक्षा केन्द्रहरुमा प्रश्नपत्र खोल्ने समयमा विविधता देखिएकोले परीक्षा समयभन्दा ठीक २० मिनेट अगाडी मात्र प्रश्नपत्र खोल्ने व्यवस्था मिलाउन सबैमा जानकारी गराउने छ।
आजको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गौतम तथा सुमन कुमार कार्की, प्रहरी उपरीक्षक गौतम मिश्र, प्रहरी नायब उपरीक्षक राधेश्याम धिमाल , राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, पर्साका प्रमुख दिलीप कुमार सिंह, शिक्षा इकाइ प्रमुख श्री हरि राउतको उपस्थिति रहेको थियो ।