
राहुल गुप्ता
पर्सा क्रिकेट संघको २०८०/०८१ को वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष पर्सा क्रिकेट संघका अध्यक्ष इन्जिनियर मनीष सिंह थिए भने प्रमुख अतिथिको रूपमा मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष श्री सुवास जायसवालले सहभागिता जनाएका थिए। कार्यक्रममा डाक्टर बासुदेव लाल कर्णले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य डाक्टर हिरालाल राउतले दिनुभएको थियो।
कार्यक्रम दुई सत्रमा सम्पन्न भएको थियो। पहिलो सत्रमा सम्मान कार्यक्रम आयोजना गरिएको थियो, जसमा विभिन्न सदस्यहरूलाई सम्मानित गरिएको थियो। पर्सा क्रिकेट संघले इन्जिनियर मनीष सिंहलाई क्रिकेट संघ नेपाल (CAN) अन्तर्गत राष्ट्रिय क्रिकेट विकास समितिमा मनोनित गरिएबापत सम्मान गरियो । साथै, श्री मुर्तुजा हवारीलाई राष्ट्रिय छनोट समिति सदस्य र श्री दाउद अन्सारीलाई क्रिकेट संघ नेपालको क्रिकेट प्रतियोगिता समितिमा सदस्यका रूपमा चयन भएकोमा सम्मानित गरियो। यसैगरी, खेलाडी रञ्जित कुमारलाई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो पटक डेब्यु गरेबापत विशेष सम्मान प्रदान गरियो। सो क्रममा एक बर्षका दौरान सह्राणिय कार्य गरेवापत संघमा आवद्ध विभिन्न उपसमितीका संयोजक ज्यूहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका दौरान, पर्सा क्रिकेट संघका लामो समयदेखि प्रशिक्षक रहँदै आएका उमेश उपाध्यायले क्रिकेटको प्रवद्र्धन गर्नु आवश्यक रहेको र यस दिशामा क्रिकेट संघ नेपाल सही मार्गमा अघि बढिरहेको बताउनुभयो। प्रमुख अतिथि श्री सुवास जायसवालले पर्सा क्रिकेट संघले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको उल्लेख गर्दै संघलाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
दोस्रो सत्रमा, डाक्टर बासुदेव लाल कर्णले प्राविधिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने बाबुजान अन्सारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। यसरी प्रस्तुत प्रतिवेदनलाई उपस्थित सम्पूर्ण सदस्यज्यूहरुले सौहार्दपूर्ण वातवरणमा अनुमोदन गरि कार्यक्रम सफल बनाउनु भयो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष इन्जिनियर मनीष सिंहले समापन मन्तव्यका साथ आगामी योजना प्रस्तुत गर्नुभयो। सिंहले क्रिकेट विकासका विभिन्न चुनौतीहरूको चर्चा गर्दै पर्सा क्रिकेटलाई अर्को स्तरमा लैजान सबै सदस्यहरूको साथ र सहकार्यले मात्र सम्भव हुने धारणा व्यक्त गर्नुभयो। उहाँले प्रदेशस्तरीय संवाद र खेलकुद मन्त्रीसँग समन्वय भइरहेको जानकारी दिँदै, खेलकुद सम्बन्धी विधेयक पारित भएकोमा मधेश प्रदेशका खेलकुद मन्त्रीलाई बधाई समेत दिनुभयो। उक्त विधेयकले प्रदेशको खेलकुदको भविष्यलाई उज्जवल बनाउने विश्वास पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी सबै सदस्यहरूले यस वर्षको वार्षिक साधारण सभालाई सफल बनाउन महत्त्वपूर्ण योगदान दिएका थिए।




