रास्वपाबाट वीरगञ्ज महानगरको मेयरमा प्रबेज अख्तर उम्मेदवार बन्ने चर्चा तीव्र

रास्वपाबाट वीरगञ्ज महानगरको मेयरमा प्रबेज अख्तर उम्मेदवार बन्ने चर्चा तीव्र

वीरगञ्ज । आगामी स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि विभिन्न राजनीतिक दलभित्र सम्भावित उम्मेदवारबारे चर्चा सुरु भएको छ। यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट युवा नेता प्रबेज अख्तर मेयर पदका सम्भावित उम्मेदवारका रूपमा चर्चामा आएका छन्।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आगामी फागुनमा गर्नेगरी तयारी अघि बढाएको छ। २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिनुभन्दा करिब दुई महिनाअघि नै निर्वाचन गर्ने तयारी आयोगले गरिरहेको जनाएको छ।

निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाका अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ मा रहेको व्यवस्थाअनुसार कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै स्थानीय तहको निर्वाचन गराउने तयारी भइरहेको छ।

यसैबीच आयोगले स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा अन्तर–जिल्ला मतदानको व्यवस्था गर्नेसम्बन्धी अध्ययनसमेत अघि बढाएको जनाएको छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकामा पनि राजनीतिक दलहरूले सम्भावित उम्मेदवारबारे आन्तरिक छलफल र तयारी थालेका छन्। रास्वपाबाट भने प्रबेज अख्तरको नाम मेयर पदका लागि चर्चामा आएको हो।

रास्वपा पर्साका संस्थापक सदस्यहरूमध्ये एक मानिने अख्तर पार्टी स्थापना कालदेखि नै संगठन निर्माण तथा विस्तारमा सक्रिय रहँदै आएका छन्। उनी रास्वपा पर्साका संस्थापक तथा प्रतिनिधिसभा सदस्य हरि पन्तका निकटका रूपमा समेत परिचित छन्।

पार्टीको संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा विभिन्न सामाजिक गतिविधिमा अख्तरको सक्रियता रहँदै आएको बताइन्छ। यही सक्रियताका कारण आगामी स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरको मेयर पदका लागि उनको नाम चर्चामा आएको हो।

रास्वपानिकट स्रोतका अनुसार अख्तरले वीरगञ्ज महानगरको मेयर पदमा उम्मेदवारीका लागि आन्तरिक तयारी अघि बढाइरहेका छन्। यद्यपि रास्वपाले उनलाई आधिकारिक रूपमा मेयरको उम्मेदवार घोषणा भने गरिसकेको छैन।

वीरगञ्जका युवा तथा सामाजिक क्षेत्रमा सक्रिय अख्तरले महानगरको विकास, सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आफ्नो राजनीतिक गतिविधि अघि बढाइरहेको उनका निकटस्थहरूको भनाइ छ।

वीरगञ्जमा सडक, सरसफाइ, खानेपानी, ट्राफिक व्यवस्थापन, सार्वजनिक सेवा तथा शहरी पूर्वाधारका क्षेत्रमा देखिएका समस्यालाई व्यवस्थित रूपमा समाधान गर्न नयाँ सोच र योजनासहितको नेतृत्व आवश्यक रहेको अख्तरको धारणा रहेको बताइएको छ।

देशकै प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा रहेको वीरगञ्ज महानगरमा आगामी निर्वाचनमा प्रमुख राजनीतिक दलहरूबाट को–को उम्मेदवार बन्ने भन्ने विषयमा अहिलेबाटै चर्चा सुरु भएको छ। यस्तो अवस्थामा रास्वपाबाट प्रबेज अख्तरको सम्भावित उम्मेदवारीले वीरगञ्जको स्थानीय राजनीतिक वृत्तमा चासो बढाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close