
‘एक चुटकी सिन्दूर की कीमत तुम क्या जानो, रमेश बाबू’ हिन्दी फिल्म ‘ओम शान्ति ओम’मा दीपिका पादुकोणको यो संवाद महिला विभेदको विरुद्धमा हो । पितृसत्तात्मक सोचको विरुद्धमा हो । केहीअघि सत्ताशक्तिबाट सिंहनाद भयो, एक हातमा सिन्दूर र अर्को हातमा नागरिकता दिन सकिंदैन ।
मधेसको माटोमा सीतामाताको संस्कार मिसिएको छ । पतिको दुःखमा दुःख र सुखमा सुख अनुभूति गर्ने महिलाहरूको पतिप्रेम अद्भुत र अतुलनीय छ । पतिको नामको सिन्दूर लगाइसकेपछि जहाँ पति, त्यहीं आफ्नो जीवनमरण स्वीकार्य गर्छन्, यहाँका महिलाहरू । अपवादबाहेक यो संस्कार र संस्कृति पुस्तौंदेखि निरन्तर छ ।
असार १५ गते पतिको लागि दही–चिउरा लिएर खेतमा पुगेकी पत्नी (विदेशी बुहारी)ले पतिसँग सोधिन्, “नागरिकता के बारे में काथी के हाला चललबा ? मालूम बा अपने के ?” पतिले भने, “हमनी खातिर त सिंहदरबार मने हमनी के खेतवे नु हउवे हो, ओही में जोती कोडी आ खाइँ, माकिर नेता लोगके सिंहदरबार– सोना के खेत ह जनताके भरमाइँ आ विनाजोतले कोडले कामात रही आ खात रहीं, बुझलु ।” अर्थात् हाम्रोलागि सिंहदरबार भनेको हाम्रो खेत हो– उब्जाउने र खाने । नेताहरूको सिंहदरबार भनेको सुनको खेत हो । जनतामा भ्रम छर्ने, मलजल गर्ने, काट्ने र खाने, बुझ्यौ ।
डिभी परेर वा द्रव्यशक्तिले वा सत्ताशक्तिले विदेश हानिएका आफ्ना प्रवासी सन्तानको सुखशान्तिको प्रार्थना गरेर सदनमा आफ्नो धारण प्रस्तुत गर्न आउने थुप्रै नेतागण होलान् । शक्तिमा नरहेको बेला सन्तानसँगै विदेशी सुखसयलमा प्रवासी जीवन जिउने योजना नहोला, भन्न सकिन्न । त्यस्ता स्वयम् सुखायजनहरूलाई भुइँमान्छेको सरोकारसँग के नै वास्ता हुन्छ । नियमित/अनियमित स्रोतबाट अर्जित नेपाली रुपैयाँबाट अतृप्त शक्ति सम्पन्नहरूभन्दा डलरको मोह तिनीहरूमा उत्पन्न हुँदैन, जो दुई छाकको लागि स्वदेशमा पसिना बगाइरहेका छन् ।
२००९ सालमा नागरिकता वितरण प्रणाली शुरू भएदेखि २०७३ असार मसान्तसम्म ३ लाख ६४ हजार ५३ विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेर अङ्गीकृत नागरिकता लिएका छन् । ६८ वर्षमा वैवाहिक अङ्गीकृत नागरिकता लिएर नेपालमा बसेका भारतीयदेखि अन्य देशका ४ लाखभन्दा कम महिलामध्ये कतिजनाले नेपालको अस्तित्व नै खतरामा पार्ने काम गरे होलान् ? यसको जवाफ सिंहदरबारसँग अपेक्षित छ ।
के विवाह गर्दै नेपाल भित्रिएकी बुहारीहरूकै कारण यहाँको जनसङ्ख्याको बनोटमा उलटपुलट भएको हो ? सोमध्ये कति प्रतिशत वैवाहिक अङ्गीकृत महिला राज्यको नीति निर्माण तहमा छन् ? बजारमा सत्ताको भाउ बढाबढ गर्ने र जनमानसमा राष्ट्रवादी छवि भजाउने नेतादेखि बुद्धिजीवीले जवाफ दिन सक्छन् ? नागरिकता सम्बन्धमा सरकारीस्तरबाट शुरूदेखि नै आफ्नो वा अरू जुनसुकै देशका व्यक्तिलाई पहाडी अनुहार वा भाषा र पहिरनको आधारमा नेपाली मान्ने विभेदकारी सोचले गर्दा समस्या जन्मेको हो । यसको अन्त्य कहिले हुन्छ ?
नेपाली वंशज नागरिकलाई पिता बनाएर वा जालसाज गरेर वा विभिन्न प्रपञ्च रचेर नेपाली नागरिकता हत्याउनेलाई, जाली नागरिकताको सिफारिश गर्नेलाई, सेवा प्रदान गर्ने निकाय र कर्मचारीलाई कानूनबमोजिम कारबाही चलाउनुपर्दछ ।
द्वितीय विश्वयुद्धपछि स्वतन्त्र राज्य वर्मा (म्यानमा)को राजनीतिक समस्याका कारण ८/१० पुस्तापछिका सन्तान जसलाई नेपालबारे ज्ञानसमेत थिएन, तिनीहरू खस (नेपाली) भाषी भएका कारण प्रवासी नेपाली भनिए । यस्तै, भारत आसाम राज्यका नागरिकलाई नेपाली भनेर भिœयाउने काम भयो । सन् १९६२ देखि आसामी र वर्मेली बस्तीहरू बसालिए । नेपालमा घरजग्गासहितको सुविधा दिएर वंशजको नागरिकता दिइयो ।
३० जून १९७६ सम्म हड्ढङमा जन्मेका पहाडी मूलका ब्रिटिश नागरिकका सन्तानलाई आदेश जारी गरेर नेपाली नागरिकता दिइयो, तर तिनीहरू इङ्ग्ल्यान्डमा बसोबास गर्न हिंडेकाले आज पनि दोहोरो नागरिकताको लाभमा छन् । त्यस्तै, भारतको आसाम, दार्जिलिङ, गढवाल र कुमाउका साथै भूटानका व्यक्तिले खस भाषाभाषी भएकै आधारमा र कतिपय तिब्बतीले अनुहारकै आधारमा र कतिपयले झुक्याएर वा भ्रष्टाचारबाट वंशजको नागरिकता पाएका छन् । के कपाल फुलेका शीर्षस्थजनहरूलाई यो इतिहास थाहा छैन ?
सत्तासीनहरूसमेत पढेलेखेका मानिसले इतिहास पढेकै होलान् । तथापि ती बुद्धिजीवी प्राणीहरूको अभिव्यक्ति सुनेर/पढेर दया लाग्छ । यो देशका गोपाल, महिषपाल, लिच्छवी, मल्ल, शाह, ब्राह्मण, क्षत्रीलगायत हिन्दू र मुसलमान विभिन्न कालखण्डमा भारतबाटै आएका हुन् । जुम्ला, दैलेख र गोरखाका राजवंश र मानिस भारतबाटै आएका हुन् । मगर, गुरुङ, राई, लिम्बू, किराँती तथा शेर्पा आदि मङ्गोलियातिरबाट आएका हुन् र नेपाल आबाद र गुलजार भएको हो ।
नेपालको तराई क्षेत्र जनकपुर, कपिलवस्तु, विराटनगर आदि राज्यहरू त झन् त्रेता–द्वापरका पौराणिक धरोहर हुन् । पृथ्वीनारायण शाहबाट एकीकरण गरेर विविधतामा एकता स्थापित भएको हो । साथै बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सन् १८६० मा ब्रिटिश सरकारले जङ्गबहादुरलाई उपहार दिएकाले तराईवासी यहाँकै प्राचीन निवासी हुन् भन्ने कुरा बिर्सेर विकृत मानसिकता र शोषक प्रवृत्तिले मधेसवासीहरू नेपालका मूल निवासी होइनन्, हिजो–अस्ति मात्र आएका हुन् भन्ने चिन्तनले नेपालको राजनीतिक वातावरण धमिलिएको छ । जनताकोे सिंहासनमा विराजमान भएपछि जनप्रतिनिधिहरूको विगतभन्दा पनि रूढ सोच अकल्पनीय हो ।
वीरगंज राधेमाईका ३२ वर्षीय नीरज मिश्रको विवाह भारतीय बेहुली मीनाक्षी पाढीसँग हुने भएको छ । गत फागुनमा उनीहरूको औंठी समारोह सम्पन्न भएको थियो । विवाह भने लकडाउनको कारण आगामी वर्ष सारिएको छ । नीरज कृषि विज्ञानमा स्नातकोत्तर सकेर स्वदेशमा जागीरे छन् । मीनाक्षी कृषि विज्ञानमा पिएचडी धारक हुन् । उनी बिहे भएर नेपाल आउँदा ३१ वर्षकी हुनेछिन् । राज्य व्यवस्थापन तथा सुशासन समितिले प्रस्ताव गरेको नागरिकता विधेयक संसद्बाट पारित भएमा नागरिकता पाउने बेलासम्म उनको उमेर ३८ वर्ष हुनेछ । उनी आफ्नो देश त्यागेर पतिको देशमा बुहारी बनेर आएपछि ७ वर्ष भान्सामा बिताउनुपर्छ । उनी भारतका विभिन्न राष्ट्रिय प्रतिस्पर्धी परीक्षामा नाम निकालेर शिक्षा हासिल गरेकी सामान्य परिवारकी छोरी हुन् ।
के मीनाक्षी नेपालको जागीर र तलबप्रति आकर्षित छिन् ? के उनी भारतभन्दा बढी नेपालमा सुविधा पाइन्छ भनेर विवाह गरेर आउन लागेकी हुन् ? के उनी यहाँको नागरिकताप्रति आकर्षित छिन् ? पक्कै पनि होइन । दुवै देशको संस्कृति, भेषभूषा, वर–वधूको शैक्षिक योग्यतालगायतका समानता भएकोले दुवै पक्ष विवाहको लागि तयार भएका हुन् । उनी पतिको घरसँगै देशबाट समेत अपनत्व पाउनुपर्दछ । नेपालको नागरिक भएर जीवन बाँच्न पाउनुपर्दछ ।
नेपाली वंशज नागरिकलाई पिता बनाएर वा जालसाज गरेर वा विभिन्न प्रपञ्च रचेर नेपाली नागरिकता हत्याउनेलाई, जाली नागरिकताको सिफारिश गर्नेलाई, सेवा प्रदान गर्ने निकाय र कर्मचारीलाई कानूनबमोजिम कारबाही चलाउनुपर्दछ । राष्ट्रव्यापीरूपमा कारबाहीको अभियान चलाउनुपर्छ । यो सवालमा कुनै पनि नेपाली समुदायको विमति हुनेछैन । तर आफ्नो जन्मदेशको नागरिकता परित्याग गरेर पतिको देशमा पाइला टेकेकी बुहारीलाई सात वर्ष अनागरिक बनाएर राख्नु उसको भावनामाथि ठेस पु-याउनु हो ।
आजको सामाजिक परिवेशमा विवाह स्वदेशमा होस् वा विदेशमा सबैलाई शिक्षित वर वा वधू चाहिएको छ । केटापक्षको पैत्रिक सम्पत्ति र केटीपक्षको दाइजोभन्दा पनि शैक्षिक योग्यतामा दुईटै पक्षको चासो बढ्नु सकारात्मक पक्ष हो । समान योग्यताका पति/पत्नी पाउने अभिलाषा वर–वधूको मात्र होइन कि पारिवारिक आकर्षण पनि बढ्दो छ । त्यस कारण छोरीप्रति सामाजिक सोच पनि परिवर्तनशील छ । आआफ्नो समानता/रुचि अनुसार जहाँ पनि विवाह गर्ने स्वतन्त्रता नैसर्गिक अधिकार हो । यस्तो परिवर्तनशील अवस्थामा सत्ताको मोर्चा विदेशी बुहारीहरूमाथि खनिनु जायज हुन सक्दैन । यतिबेला सिंहदरबार, सत्ताशक्ति र सिन्दूरप्रति जनचासो बढ्दो छ । सिंहदरबारले जनअपेक्षालाई निरन्तरता प्रदान गर्नु सान्दर्भिक हुनेछ ।
साभार : www.prateekdaily.com