
राजधानीको केन्द्रमा एक अत्याधुनिक संरचनासहितको नयाँ मेडिकल कलेज “काठमाडौं नेशनल मेडिकल कलेज” आगामी शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउन लागेको छ। चिकित्सा शिक्षा र सेवाको क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव बोकेका बसरुद्दीन अन्सारीको नेतृत्वमा यो संस्था सुरु हुँदैछ।
कलेजका सञ्चालक अन्सारीले एक विशेष कार्यक्रममार्फत सेवा सुरु गर्ने जानकारी दिँदै भने, “हामी सेवा भावनाका साथ अघि बढिरहेका छौं। हाम्रो उद्देश्य नाफा कमाउनु होइन, जनताको विश्वास जित्नु हो।”
आधुनिक संरचना, सुपर स्पेसलाइज्ड सेवा
काठमाडौं नेशनल मेडिकल कलेजमा सुरुमा १०० शय्याको अनुमति लिएर सेवा सुरु गरिने भए पनि पूर्ण संरचना भने १७४ शय्याको तयार भइसकेको छ। अस्पतालमा १५ बेडको आइसीयू, १५ बेडको एचडीयू, १५ बेडको नियोनेटल आइसीयू, र १६ बेडको आपत्कालीन वार्डसहित सबै प्रकारका आवश्यक सेवा सुविधा उपलब्ध छन्।
सञ्चालक अन्सारीका अनुसार अस्पतालबाट मेडिकल सर्जरी, गाइनोपेडिया, न्युरोलोजी, थाइराइड लगायतका सुपर स्पेसलाइज्ड सेवा प्रदान गरिनेछ। एमआरआई, सिटी स्क्यानजस्ता अत्याधुनिक उपकरणको जडान भइरहेको छ र तीन महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ।
जनमुखी दर, गुणस्तरीय उपचार
अन्सारीले निजी क्षेत्रको अत्यधिक शुल्कप्रति असन्तुष्टि जनाउँदै आफ्नो अस्पतालको दर सरकारी अस्पतालको भन्दा अधिकतम १० प्रतिशत र निजी अस्पतालको भन्दा झण्डै ५० प्रतिशत कम हुने दाबी गरे।
“सुविधा, सेवा र शुल्कमा सन्तुलन कायम राख्दै हामी जनताको अपेक्षा अनुसार सेवा दिन चाहन्छौं,” अन्सारीले भने।
चिकित्सा शिक्षामा विदेशिने प्रवृत्तिमा रोक
पछिल्लो समय ठूलो संख्यामा नेपाली विद्यार्थी विदेश गएर चिकित्सा शिक्षा तथा उपचार लिइरहेको अवस्थामा यो नयाँ मेडिकल कलेजले स्वदेशमै विश्वस्तरीय सेवा दिने प्रयास गरेको अन्सारीको भनाइ छ। “विदेश जाने प्रवृत्तिमा ब्रेक लगाउने हाम्रो लक्ष्य हो,” उनले जोड दिए।
अनुभवी नेतृत्वमा नयाँ पहिचान
बसरुद्दीन अन्सारी यसअघि नेशनल मेडिकल कलेज २५ वर्षसम्म सञ्चालन गरेका थिए भने पछिल्ला चार वर्ष नेपाल मेडिकल कलेजसँग आबद्ध थिए। उनले अनुभव र सेवामूलक दृष्टिकोणको संयोजन गर्दै नयाँ संस्थालाई फरक पहिचानसहित अगाडि बढाउने लक्ष्य राखेका छन्।
“डाक्टर, नर्स र कर्मचारी सबै अनुभवी र दक्ष छन्। हामी गुणस्तरमा सम्झौता गर्ने छैनौं,” उनले भने।
संपर्क: काठमाडौं नेशनल मेडिकल कलेज
स्थान: काठमाडौं उपत्यकाको केन्द्र
सेवा सुरु मिति: आगामी शुक्रबार
सुविधाहरू: ICU, HDU, NICU, Emergency, MRI, CT Scan, सुपर स्पेसलाइज्ड सेवा




