
पर्सा जिल्लामा हैजाको संक्रमण तीव्र बन्दै गएपछि गृहमन्त्री रमेश लेखक शनिबार साँझ वीरगन्ज पुगेका छन्। उनले त्यहाँका प्रमुख अस्पतालहरू—नारायणी अस्पताल, तराई अस्पताल, र वीरगन्ज हेल्थकेयरमा उपचाररत बिरामीको स्वास्थ्य अवस्था बारे जानकारी लिए।
गृहमन्त्रीले अस्पताल प्रशासनसँग कुराकानी गर्दै उपचारमा देखिएका चुनौती र आवश्यकताबारे बुझ्न प्रयास गरे। हैजा नियन्त्रणमा सरकारले आवश्यक सबै स्रोत र साधन परिचालन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
“नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता हो। आवश्यक परेमा नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी बलका स्वास्थ्य टोली तुरुन्त खटाइनेछन्,” उनले अस्पतालका चिकित्सकसँगको छलफलमा भने।
गृहमन्त्रीले महामारी नियन्त्रणका लागि नेपाली सेना सहित तीनवटै सुरक्षा निकायको समन्वयमा काम हुने जानकारी दिए। साथै, उनले संक्रमित क्षेत्रको अवस्थाबारे तथ्यगत विश्लेषण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई चिकित्सकलाई विशेष जिम्मेवारी दिएको गृह मन्त्रालयले जनाएको छ।
उनको भनाइमा, हैजा जस्तो संक्रामक रोग नियन्त्रण गर्न सरकारी प्रयाससँगै विशेषज्ञहरूको सुझाव र मूल कारणको पहिचान अपरिहार्य हुन्छ।
सरकार हैजाको महामारीलाई गम्भीर रूपमा लिएको र चाँडै नियन्त्रणमा ल्याउन सबै संयन्त्र परिचालन गरिने उनले स्पष्ट पारे।




