आत्महत्या रोकथामबारे ‘रोट्रयाक्ट क्लब अफ राजधानी’को छलफल

काठमाडौं : रोट्रयाक्ट क्लब अफ राजधानी ‘आरआईडी ३२९२’ ले आत्महत्या जागरूकता र रोकथाम’ विषयमा अन्तर्क्रिया गरेको छ । कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै रोट्र्याक्ट क्लब अफ राजधानीले शनिबार भर्चुअल सत्र आयोजना गरेको हो ।

“ए अनमोल आत्मा, तपाईको अस्तित्व छ” मूल नारासहित सञ्चालित उक्त अनलाइन सत्रलाई मनोपरामर्शकर्ता कृपा सिग्देलले सहजीकरण गरेकी हुन् । रोट्र्याक्ट लगायत अन्य विभिन्न संघसंस्थामा आवद्ध विभिन्न उमेर समूहका ३५ भन्दा बढी व्यक्तिहरुको सहभागीता रहेको अध्यक्ष नेहा कार्कीले जानकारी दिइन्।

आत्महत्या गर्न सिर्जना हुने विचार र कारणहरु, आत्महत्या पूर्व देखाउने लक्षण, समाधानका उपाय र आत्महत्या निरुत्साहित गर्नका लागि जनजागरण सम्बन्धमा जोड दिएको अध्यक्ष कार्कीले बताइन् ।

सहजकर्ता सिग्देलले सहभागीलाई नजिकका व्यक्तिहरु वा चिनजानका व्यक्तिहरुमा आत्महत्या गर्ने व्यक्तिमा देखिने लक्षण देखिएमा के गर्ने र उपचारका लागि कहाँ लैजाने भन्नेबारे जानकारी गराएकी थिइन् । उनले सकारात्मक दृष्टिकोण भएमा जुनसुकै कठिन समस्याहरुसँग समेत जुध्न सकिने हुँदा हरसमयमा सकारात्मक दृष्टिकोण लिनका लागि प्रेरित गरिन् ।

जुममार्फत सञ्चालन गरिएको अनलाइन सेसनमा लकडाउनका कारण मानसिक समस्या भएका व्यक्तिकोसमेत सहभागिता थियो ।

“मलाई रोट्र्याक्ट क्लब अफ राजधानीले आयोजना गरेको अनलाइन सेसन एकदमै उपयोगी लाग्यो । सहजकर्ताको प्रस्तुती साहै्र राम्रो थियो। सहजकर्ताले मानसिक समस्या र आत्महत्या रोकथामका विषयमा उब्जिएका प्रश्नहरुको एकदमै सरल र सजिलै बुझ्न सकिने गरी जानकारी गराउनुभयो,’ सहभागि प्रयास सुवेदीले भने, ‘उहाँले सिकाएको आत्म विश्लेषण गर्ने विधि चाखलाग्दो थियो । मैले सेसनबाट निकै मज्जा लिएँ ।”

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close