पशुपति रोड क्यारिर्यसले बुकिङ्ग गर्ने अधिकांश ट्रकमा बिलविजक भन्दा बढी सामान भेटिदै

पशुपति रोड क्यारिर्यसले बुकिङ्ग गर्ने अधिकांश ट्रकमा बिलविजक भन्दा बढी सामान भेटिदै

वीरगन्ज, पर्सा

ढुवानी सेवाको नाममा राजस्व छलि र तस्करीमा नाम कमाएको पशुपति रोड क्यारियर्सले बुकिङ्ग गर्ने अधिकांश ट्रकहरुमा बिल विजक भन्दा बढी सामान भेटिने गरेको छ ।

वीरगन्जमा प्रधान कार्यालय रहेको पशुपति रोड क्यारियर्सले बुकिङ्ग गरेको सामान लोड गरेको ना. ३ ख. २७७ नम्बरको ट्रक वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोलीले मंगलबार राति पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ६ लोहारपट्टी चोक स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको थियो ।

नमस्ते ट्रान्सपोर्टबाट पठाईएको भनिएको ट्रक पशुपति रोड क्यारियर्सले पठाएको तथ्य फेला परेको हो । विल बिजक शंकास्पद देखिएपछि चेकजाँच गर्दा ६१ लाख ४६ हजार १२ रुपैया बराबरको खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामाग्रीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसअघि पनि पशुपति रोड क्यारियर्सले बुकिङ्ग गर्ने ट्रकमा बिल विजक भन्दा बढी सामान लोड गरिएको भेटिने गरेको थियो । पशुपति रोड क्यारियर्सका संचालक राजेन्द्र गुप्ता हुन् ।

ढुवानी सेवाको नाममा देशको अर्थतन्त्रलाई नै प्रभावित गर्ने गरी अहिले भन्सार छलिका सामानहरु ट्रकमा लोड गरेर विभिन्न स्थानमा पठाउने कामममा पशुपति रोड क्यारियर्सले सहयोगी भूमिका खेल्दै आएको छ ।

प्रहरी प्रशासनदेखि माथिल्लो तहसम्म सम्पर्क बढाएर ढुवानी सेवाको नाममा तस्करीका सामानहरु ट्रान्सपोर्टबाट बिलविजक बनाई नेपालका विभिन्न स्थानमा पठाउने काम पशुपति रोड क्यारियर्सले गर्दै आएको छ । नेपालमा सशस्त्र जनयुद्धको समयमा पनि पशुपति रोड क्यारियर्सले हतियार नेपाल भित्र्याउन सहयोग गरेको व्यापक चर्चा चल्ने गरेको थियो ।

वीरगन्जको श्री क्यारियर्समा कर्मचारीको रुपमा काम गरेका राजेन्द्र गुप्ताले त्यहिबाट पशुपति रोड क्यारियर्सको नाममा ढुवानी व्यावसाय सुरु गरेका हुन् ।

उनको अहिले नेपाल भरी सञ्जाल विस्तार गर्नुको साथै भारतमा समेत व्यावसायलाई विस्तार गरेको छ । भारतका विभिन्न सहरबाट सीधा सामान रक्सोलमा ल्याउने र त्यहाँबाट पोके तस्करको माध्यमबाट वीरगन्जको कार्यालयमा ल्याई ट्रक बुकिङ्ग गर्ने र बिल विजक भन्दा बढी सामान लोड गरेर देशका विभिन्न स्थानमा पठाउने गरेको छ ।

यसरी पठाएको सामान सहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा र वीरगन्ज भन्सार कार्यालयमा पठाउने गरेपनि गुप्ताको पूरानै सेटिङ्गले ती सामानहरु पनि छुट्ने गरेको स्रोतले जनाएको छ ।

राजस्व अनुसन्धान कार्यालय पथलैया र वीरगन्ज भन्सार कार्यालयलाई बुझाईएका सामानहरु कसरी कहिले छुट्छ भन्ने बारेमा पक्राउ गरेर बुझाएको प्रहरीलाई समेत जानकारी नदिने गरेको प्रहरी स्रोतले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close