
मेडिकल कलेजमा मिर्गौलारोगीहरू धमाधम मर्दै
नारायणी अस्पतालबाट स्थानFन्तरण भई नेशनल मेडिकल कलेजमा गएका मिर्गौलारोगीहरू धमाधम मर्न थालेपछि सन्त्रास छाएको छ।सात हप्तामा छजनाको मृत्यु भएको प्रजापतिनगर निवासी रामविश्वास कुशवाहाले जानकारी दिए। नेशनल मेडिकल कलेजमा स्थानान्तरण भई गएका मिर्गौलारोगीहरूको डायलोसिसमा चरम लापर्बाही भएको भन्दै मिर्गौला बिरामीहरू मर्न थालेको बिरामीका आफन्तजनले जानकारी गराएका छन्। नेशनल मेडिकल कलेजविरुद्ध परिवारजनले कारबाईको माग गर्दै उजूरी दिने तयारी गर्दैछन्।
मृत्यु हुनेमा कृष्ण ठाकुर (२४ वर्ष), नन्दलाल महतो (६० वर्ष), अजय कार्की (३५ वर्ष), तबु नेसा (५० वर्ष), नासिर बानो (४५ वर्ष), नागेन्द्र झा (६० वर्ष) रहेका छन्। नारायणी अस्पताललाई नेपाल सरकारले कोभिड अस्पताल घोषणा गरेपछि त्यहाँका मिर्गौलारोगीलाई नेशनल मेडिकल कलेजमा डायलोसिसको लागि अस्पताल प्रशासनले वैशाख २ गते स्थानान्तरण गरेको थियो।
नेशनल मेडिकल कलेजमा मिर्गौलारोगीहरूको डायलोसिस गर्नेक्रममा चरम लापर्बाही भएपछि बिरामीका आफन्तले नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायलाई पटकपटक जानकारी गराएका थिए।
पीडित रामविश्वास कुशवाहाले कलेजले एउटा डायलोजरबाट दशपटकसम्म डायलोसिस गर्ने गरेको बताए। उनले नारायणी अस्पतालमा एउटा डायलोजरबाट दुईपटक मात्र डायलोसिस हुने गरेको बताए। नारायणी अस्पतालबाट गएका बिरामीलाई मेडिकल कलेजमा हीन दृष्टिले व्यवहार गर्ने तथा कुसमयमा डायलोसिस गर्ने गरेको उनको भनाइ छ। चिकित्सकहरूको चरम लापर्बाही र उचित स्याहार सुसार नहुँदा बिरामीहरूको मृत्यु भएको उनको गुनासो छ।
विपन्न नागरिक कार्यक्रम अन्तर्गत नेपाल सरकारले नेशनल मेडिकल कलेजलाई निश्शुल्क डायलोसिस गरेबापत अनुदान दिने गरेको छ। प्रतिव्यक्ति एकपटक डायलोसिस गरेबापत कलेजलाई सरकारले रु २ हजार ५ सय दिने गरेको छ।
त्यसबाहेक डायलोजर र आवश्यक केमिकलसमेत नेपाल सरकारले सित्तैमा दिने गरेको नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले जानकारी दिए। सरकारी सुविधा अन्तर्गत अहिलेसम्म नारायणी अस्पतालमा डायलोसिस गराउँदा बिरामीको स्थिति ठीक थियो। तर जुन दिनदेखि नेशनल मेडिकल कलेजमा डायलोसिस शुरू भयो, त्यसै दिनदेखि नै बिरामीको अवस्था झनै बिग्रँदै गएको कुशवाहाको आरोप छ।
चालीसजना मिर्गौलारोगीमध्ये छजनाको मृत्यु भएको छ भने अधिकांशको अवस्था चिन्ताजनक भएपछि अभिभावकहरू चिन्तित भएका उनको भनाइ छ।
यस विषयमा नेशनल मेडिकल कलेजका निर्देशक डा प्रमोद सर्राफले क्षमताभन्दा बढी बिरामी आएकाले कलेज प्रशासनले हारगुहार गरेर कर्मचारीलाई काममा लगाउने गरेको बताए। उनले दक्ष प्राविधिकको रोहबरमा डायलोसिस हुने गरेकोले कुनै कमीकमजोरी नभएको बताए। उनले जटिल अवस्थाका बिरामीको मात्र डायलोसिस गर्ने गरिएको र के कारणले अवस्था बिग्रियो सो बुझ्ने काम भइरहेको प्रतिक्रिया दिए। उनले दशवटा मेशिन रहेको र सोको क्षमता भने चालीसजना बिरामी रहेकोमा नब्बेजना बिरामी आएपछि अहिले क्षमताभन्दा बढी काम भइरहेको बताए । prateekdaily.com




