पर्साको निर्वाचन क्षेत्र नं. २ बाट सुरेन्द्र प्रसाद कुर्मी एक नम्बरमा सिफारिस

पर्साको निर्वाचन क्षेत्र नं. २ बाट सुरेन्द्र प्रसाद कुर्मी एक नम्बरमा सिफारिस

आकाश पटेल
जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्सा जिल्ला कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ। जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा २०८२ साल भदौ १५ गते बसेको बैठकले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिनिधिसभा क्षेत्र समन्वय समिति पर्साले सिफारिस गरेका नामहरू केन्द्रिय समितिमा पठाउने निर्णय गरेको हो।

निर्णयअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट सुरेन्द्र प्रसाद कुर्मीको नाम एक नम्बरमा सिफारिस गरिएको छ। कुर्मीसँगै अशोक कुमार टेमनी, सन्तोष तिवारी, कामेश पण्डित, आशुतोष चतुर्वेदी र विरेन्द्र प्रसाद यादवको नाम पनि सिफारिस गरिएको छ।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट लालबाबु राउत, रामनरेश प्रसाद यादव र बालकिशोर प्रसाद यादव सिफारिस भएका छन्। निर्वाचन क्षेत्र नं. ३ बाट नरेन्द्र प्रसाद यादव र भरत गिरी तथा निर्वाचन क्षेत्र नं. ४ बाट डा. कृष्णमणि प्रसाद चौधरी सिफारिस भएका छन्। पार्टीले सिफारिस गरिएका सबै उम्मेदवारको नाम केन्द्रिय समितिमा पठाइने जनाएको छ।

सामाजिक सेवामा चिनिएको व्यक्तित्व

पर्सा क्षेत्र नं. २ बाट एक नम्बरमा सिफारिस भएका सुरेन्द्र प्रसाद कुर्मी कपडा बैंकका संस्थापक तथा अधिवक्ता हुन्। उनी लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। विपन्न, असहाय र आपतमा परेका समुदायका लागि कपडा बैंकमार्फत सहयोग गर्दै आएका कुर्मीको पहिचान नै सामाजिक सेवीका रूपमा स्थापित छ। स्थानीयस्तरमा उनी सरल जीवनशैली, पहुँचभन्दा बाहिर रहेका नागरिकप्रति सहानुभूति र निरन्तर सामाजिक क्रियाशीलताका कारण लोकप्रिय मानिन्छन्।

जनता–नेताबीचको असन्तोषबारे स्पष्ट धारणा

जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका कुर्मीले पछिल्लो समय जनता र नेताबीच बढ्दो असन्तोषबारे आफ्नो सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आएका छन्। उनले २०४७ सालपछिको राजनीतिक परिवर्तनमा युवाविद्यार्थीले दिएको बलिदानको स्मरण गर्दै, सत्तामा पुगेपछि धेरै नेताहरू विलासी जीवनशैलीमा डुबेको कारण जनआक्रोश बढेको उल्लेख गरेका छन्।

उनका अनुसार सुरुमा सामान्य खर्चमा चुनाव जित्ने नेताहरू सत्तामा पुगेपछि महल, महँगा गाडी र लक्जरी जीवनशैलीमा रमाउँदा जनता निराश बने। यही निराशाले माओवादी आन्दोलन र पछि मधेश आन्दोलनलाई समेत समर्थन मिलेको उनको विश्लेषण छ। तर सत्तामा पुगेपछि ती आन्दोलनले उठाएका एजेन्डा कार्यान्वयन नभएको भन्दै उनले सबै राजनीतिक धारप्रति आलोचनात्मक दृष्टिकोण राखेका छन्।

कुर्मीले भोटको सट्टा नोट चल्ने संस्कृतिले लोकतन्त्र कमजोर बनेको, युवालाई अवसर दिनुपर्ने बेला पुरानै अनुहार दोहोरिरहेकाले जनविश्वास झन् खस्किएको टिप्पणी गरेका छन्। उनका अनुसार अब राजनीति फेरि जनसेवा र इमानदारीतर्फ फर्किनु आवश्यक छ।

सामाजिक सेवा, कानुनी ज्ञान र स्पष्ट वैचारिक धारणा बोकेका सुरेन्द्र प्रसाद कुर्मीलाई पर्सा क्षेत्र नं. २ बाट एक नम्बरमा सिफारिस गरिनुलाई स्थानीयवासीले “पुरानै राजनीतिमा नयाँ सोच” को संकेतका रूपमा हेरेका छन्। अब केन्द्रिय समितिको निर्णयसँगै उनको उम्मेदवारीले औपचारिकता पाउने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close