
कोरोना संक्रमितलाई अब महानगर आफैँले खाना खुवाउने :- मेयर सरावगी
वीरगञ्ज , जेष्ठ १७ गते शनिबार ।
वीरगञ्जको अस्थायी नारायणी अस्पताल गण्डकमा उपचाररत कोरोना संक्रमितहरुलाई बिरगंज महानगरपालिका आफैले खाना खुवाउने भएको छ ।
यसअघि गैरसरकारी संस्था सानोपाइलाले संक्रमितहरुलाई खाना खुवाइरहेकोमा अब बिरगंज महानगरपालिका आफैँले खाना खुवाउने भएको हो ।अस्पतालमा उपचाररत संक्रमितलाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुरुप खाना खुवाउन महानगरपालिकाले गएको दुई साताअघि नै टेण्डर आह्वान गरेको थियो । टेण्डरमार्फत महानगरपालिकाले एउटा निजी कम्पनीलाई खाना खुवाउने जिम्मेवारी दिएको छ ।नारायणी अस्पतालले नै संक्रमितहरुलाई खुवाउने गरेको खाना अस्वास्थ्यकर भएको गुनासो आएपछि केही समयदेखी सानो पाइलाले संक्रमितहरुलाई खान खुवाउँदै आएको थियो ।
शनिबार वीरगञ्ज महानगरपालिकाले खाना खुवाउने जिम्मा एक निजि कम्पनिलाई दिएसँगै नारायणी अस्पतालले सानो पाइलालाई आइतबारदेखि खाना खुवाउन बन्द गर्न भनेको छ ।
नारायणी अस्पतालकाका वरिष्ठ चिकित्सक डा. निरज सिंहले सानो पाइलालाई आइतबारदेखि खाना नखुवाउन भनेको जानकारी दिए । ‘महानगरपालिका र एउटा निजी कम्पनीबीच सम्झौताले मुर्तरुप लिएपछी हामीले सानो पाइलालाई खाना खुवाउन बन्द गर्न अनुरोध गरेका हौँ,’ डा. सिंहले भने, ’खाना खुवाएर हामीलाई सहयोग गरेकोमा धन्यबाद छ, अब महानगरपालिकाले जिम्मा लियो, उहाँहरुले दुःख गर्नु पर्दैन ।’
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले पनि अब संक्रमितहरुलाई महानगर आफैले खाना खुवाउने व्यवस्था मिलाएको बताए ।




