नेपाल–इन्डो अस्पतालमा प्रशासनको छापा

वीरगंजको रजत जयन्तीचोकमा रहेको नेपाल इन्डो हस्पिटल प्रालिलाई जिल्ला प्रशासन कार्यालय, पर्साले कारबाई शुरू गरेको छ।

उजूरीको आधारमा जिप्रका पर्सा, स्वास्थ्य कार्यालय, उपभोक्ता मञ्चको नेतृत्वमा गएको टोलीले अस्पतालमा रहेका कागजात नियन्त्रणमा लिएको छ। विनापूर्वाधार सञ्चालित अस्पताललाई तत्काल बन्द गर्न सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। तत्काल सो अस्पतालमा बिरामी भर्ना भएको कारण कर्मचारीलाई नियन्त्रणमा नलिएको तथा सञ्चालकहरू फरार रहेको सप्रजिअको भनाइ थियो।

अनुगमनको क्रममा सो अस्पताल झोले अस्पतालजस्तो रहेको, चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि दक्ष नरहेको सप्रजिअ पौडेलले बताए। उनका अनुसार बाहिरबाट हेर्दा अस्पतालजस्तो देखिने तर भित्र अस्पतालभित्र फोहर देखिन्छ।

अस्पताल प्यान/भ्याटमा दर्ता नभएको र बिरामीहरूको उपचारमा प्रयोग हुने कागजातहरू हस्तलिखित हुने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। सो अस्पतालमा योग्यता नपुगेका नक्कली ल्याब टेक्निसियन, काम गर्ने स्वास्थ्यकर्मीको प्रमाणपत्रसमेत नरहेको र उनीहरूलाई नियुक्तिपत्रसमेत नदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सप्रजिअ पौडेलका अनुसार अस्पतालमा त्रुटि भेटिएकोले कारबाई प्रक्रिया अगाडि बढाएको र राजस्व चोरी गरेको आरोपमा आन्तरिक राजस्व कार्यालयलाई बिल भर्पाइ बुझाउने जानकारी दिए। प्रतीक दैनिक – Prateek Daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close