बंगलादेश र नेपालका वरिष्ठ पत्रकारहरूको संयुक्त प्रतिनिधिमण्डलद्वारा बंगलादेश दूतावास भ्रमण

बंगलादेश र नेपालका वरिष्ठ पत्रकारहरूको संयुक्त प्रतिनिधिमण्डलद्वारा बंगलादेश दूतावास भ्रमण

काठमाडौं । बंगलादेश र नेपालका वरिष्ठ पत्रकारहरूको संयुक्त प्रतिनिधिमण्डलले बिहीबार काठमाडौंस्थित बंगलादेश दूतावासको भ्रमण गरेको छ।

हालै सम्पन्न ‘तेस्रो अन्तर्राष्ट्रिय आदिवासी भाषा सम्मेलन–२०२६’ मा सहभागी पत्रकारहरूको संयुक्त प्रतिनिधिमण्डलले काठमाडौंस्थित बंगलादेश हाउसको भ्रमण गरेको हो।

बंगलादेशका राजदूत शफिकुर रहमानले १० सदस्यीय प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल–बंगलादेश सम्बन्ध, हालै सम्पन्न आदिवासी भाषा सम्मेलन, आदिवासी भाषा पत्रकारिता तथा यस क्षेत्रमा बंगलादेशको भूमिकालगायत विभिन्न विषयमा विचार आदानप्रदान गर्नुभएको थियो।

आदिवासी भाषा सम्मेलनमा सहभागी हुन बंगलादेशसहित विभिन्न देशका प्रतिनिधि गरी १३ सदस्यीय प्रतिनिधिमण्डल काठमाडौंमा रहेको छ। विश्व आदिवासी दिवसको अवसरमा अगस्ट ९ देखि १२ सम्म काठमाडौंमा चारदिने सम्मेलन आयोजना गरिएको थियो। विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा १७ देशका प्रतिनिधिसहित करिब ३५ हजार जनाको सहभागिता रहेको थियो।

बंगलादेशी पत्रकार प्रतिनिधिमण्डलको नेतृत्व जियाउर रहमानले गर्नुभएको थियो। प्रतिनिधिमण्डलमा एमडी अब्दुर रहमान, सार्क जर्नालिस्ट फोरमका महासचिव तथा द बंगलादेश पोस्टका वरिष्ठ संवाददाता; मुस्ताक अहमद मुबारकी, द डेली बंगबानीका सम्पादक; एमडी जियाउर रहमान, द डेली अजकलका विशेष संवाददाता; मोहम्मद मोनिरुज्जामान, डेली बैंक बिमा अर्थोरिटीका सम्पादक; पन्ना जमान, डेली अमर बंगलाका प्रबन्ध सम्पादक तथा एमडी अबु बकर सिद्दिकी, डेली अजकेर प्रभातका वरिष्ठ संवाददाता सहभागी हुनुहुन्थ्यो।

दूतावासमा बंगलादेशी प्रतिनिधिमण्डलसँगै नेपाली पत्रकार प्रतिनिधिहरू पनि सहभागी थिए। नेपाली प्रतिनिधिमण्डलमा नेसनल फोरम अफ न्युज जर्नालिस्ट्सका अध्यक्ष तथा लहना मिडियाका सम्पादक नृपेन्द्रलाल श्रेष्ठ, फोरमका उपाध्यक्ष सुनिल महर्जन, लहना विक्लीका सुरेन्द्रभक्त श्रेष्ठ तथा एपीवान टेलिभिजनका राजु नापित सहभागी हुनुहुन्थ्यो।

भेटवार्तापछि प्रतिनिधिमण्डलको सम्मानमा बंगलादेश दूतावासले दिवाभोजको आयोजना गरेको थियो। भेटवार्ता तथा दिवाभोज कार्यक्रम सौहार्दपूर्ण र आत्मीय वातावरणमा सम्पन्न भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close