वीरगंजका ट्राफिक नायक: लोकराज भट्ट ‘पोलिस अफ द मन्थ’ घोषित

वीरगंजका ट्राफिक नायक: लोकराज भट्ट 'पोलिस अफ द मन्थ' घोषित

नेपाल प्रहरीको ट्राफिक सेवामा अनुशासन, इमान्दारिता र नेतृत्वदायी क्षमताको जीवित उदाहरण बनेका वीरगंज ट्राफिक प्रहरी कार्यालयका निरीक्षक लोकराज भट्ट ‘पोलिस अफ द मन्थ’ बन्न सफल भएका छन्।

नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाले असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरीको रुपमा भट्टलाई छानेको हो। विभागीय आदेश, निर्देश र मूल्य–मान्यतालाई आत्मसात गर्दै भट्टले ट्राफिक व्यवस्था सुधार, जनचेतना अभिवृद्धि र राजस्व संकलनमा उल्लेखनीय सफलता हात पारेका छन्।

राजस्व संकलनमै अग्रणी
हालै सम्पन्न आर्थिक वर्षको समिक्षाले झनै प्रष्ट पारेको छ।मधेश प्रदेशका आठ ट्राफिक कार्यालयमध्ये वीरगंजले सर्वाधिक राजस्व संकलन गर्न सफल भएको हो। यो उपलब्धि प्रहरी निरीक्षक भट्टको नेतृत्वमा रहेको टोलीको कुशल समन्वय र लगनशील कार्यशैलीको उपज मानिएको छ।

ट्राफिक मात्र हैन, जनचेतनामा समेत सक्रिय
ट्राफिक नियम पालना गरौँ, सुरक्षित यात्रा गरौँ भन्ने नारालाई व्यवहारमा उतार्दै, भट्टको संयोजनमा कार्यालयले थुप्रै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको थियो। कार्यसम्पादन सम्झौतामा तोकिएका लक्ष्यहरू प्राप्त गर्नमा समेत वीरगंज कार्यालय अगाडि रह्यो।

पथलैयास्थित ट्राफिक महाशाखाका प्रमुख प्रहरी उपरीक्षक राज कुमार सिलवाल भन्छन्, “प्रहरी निरीक्षक लोकराज भट्टको समर्पण, कार्यकुशलता र सेवामूलक सोचको उच्च कदर गर्दै उहाँलाई असार महिनाको ‘पोलिस अफ द मन्थ’ घोषणा गरिएको हो।”

सम्मानले वीरगंज ट्राफिक प्रहरी टोलीको मेहनत, प्रतिबद्धता र नागरिकमैत्री सेवाको स्पष्ट सन्देश दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close