
देशैभर गुटले प्रश्रय पाएको बताउँदै वरिष्ठ नेता पौडेलले गुट अन्त्य गर्न सके मात्र पार्टी बलियो हुने धारणा राख्नुभयो । ‘गुट बलियो बनाउने होइन, पार्टी बलियो बनाउनुपर्छ, त्यसतर्फ सबै लागौँ’, उहाँले भन्नुभयो । १४ औँ महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत नभएपछि आफू उम्मेदवार नबनेको बताउँदै पौडेलले तटस्थ भूमिकामा बसेको बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले वीपीको विचार र सिद्धान्तलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । ‘वीपीको विचार र सिद्धान्त कांग्रेसले भुल्दै गएको छ, वीपीको विचारलाई अनुसरण गर्न सक्नुपर्छ’, पौडेलले भन्नुभयो ।
कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीलाई एकढिक्का बनाउन आवश्यक रहेको बताउँदै विगतका कमजोरी सच्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेसको १४ औँ महाधिवेशनका क्रममा जिल्ला अधिवेशनबाट निर्वाचित सभापति जितप्रकाश आलेलाई निवर्तमान सभापति वैकुण्ठ न्यौपानेले पद हस्तान्तरण गर्नुभएको थियो ।




