
वीरगञ्ज– गहुँ खेतीको लागि पर्याप्त मल रहेको सरकारले दाबी गरेपनि प्रदेश नम्बर नं. २ का जिल्लाहरुमा रसायनिक मल डिएपीको चरम अभाव भएको छ। गहुँ खेतीको लागि आवश्यक पर्ने डिएपी मलको अभाव हुन नदिने सरकारले यसअगाडि आश्वासन दिएपनि अहिले प्रदेश नं. २ का जिल्लाहरु पर्सा, बारा रौतहट लगायतका जिल्लाहरुमा मलको अभाव भएपछि किसानहरु चिन्तित बनेका हुन्
पछिल्लो दुई हप्तादेखि पर्सा बारा लगायत प्रदेश नं.२ भरि नै डिएपी मलको हाहाकार भएको हो। बर्षेनी गहुँको सिजनकै बेलामा मलको अभाव हुँदै आएको नेपालमा यसपटक पनि किसानहरुले डिएपी मलको अभाव खेप्नु परेको हो। प्रदेश नं. २ का जिल्लाका अधिकांश किसानले धान भित्र्याइकेपछि गहुँ बाली लगाइरहेका छन्
गहुँ छर्ने बेलामै डिएपी मल अभाव भएपछि यहाँका किसानहरु एक बोरा मल उपलब्ध गराउन भन्दै सहकारीदेखि कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय वीरगञ्जसम्म धाइरहेका छन्। तर,पनि मल नपाउँदा दुःख लागेको पर्साको बाहुरमाई नगरपालिकाका किसान रघुनी महतोले बताए। मलको लागि वीरगञ्जस्थित कम्पनीको प्रादेशिक कार्यालयमा आउँदा पनि मल नपाएपछि निक्कै दुःख लागेको महतोको गुनासो छ।
मलको अभावमा गहुँ खेती नसप्रिने भएकाले आफू चिन्तामा परेको बताउँदै महतोले सरकारसित मल उपलब्ध गराइदिन आग्रह गरे। ‘मागेजति मल त पाउँदै पाउँदैन एक बोराको लागि पनि निक्कै कठिनाइ छ,’ उनले भने, ‘हामी किसानहरुलाई चाहेकै बेलामा मल अभाव भएको छ, यो विषयमा सरकारको चिन्ता छैन।’ आजको प्रतिक दैनिकमा समाचार छापिएको छ ।