कास्कीमा मेला महोत्सव नगर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय कास्कीले पुनः कोरोना जोखिम बढेको भन्दै निर्धारित कुनै पनि प्रकारका मेला महोत्सव, सभा, सम्मेलन आदि कार्यक्रम स्थगन गर्न सूचना जारी गरेको छ ।

जिल्ला प्रशासन कास्की प्रमुख जयनारायण आचार्यले मंगलबार सूचना जारी गरी भिडभाडजन्य कार्यक्रम स्थगन गर्न आग्रह गरेको हो ।कोरोना तेस्रो लहर त्राससँगै दैनिक संक्रमितको संख्या बढ्न थालेपछि कोभिड १९० संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले आइतबार नै भिडभाडजन्य कार्यक्रम नगर्ने र सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको थियो ।

सीसीएमसीको सिफारिससँगै नेपाल सरकारले माघ १५ सम्मका लागि देशभरिका विद्यालयका पठनपाठनसमेत बन्द गर्न निर्देशन दिइसकेको छ । कोरोना जोखिम पुनः बढेको भन्दै पोखराको युनाइटेड क्लबले गर्दै आइरहेको पोखरा महोत्सव अनिश्चित समयका लागि स्थगन गरिसकेको छ ।

बुधबार शुरु हुने तय भएको ११ औं संस्करणको उक्त महोत्सव अर्को सूचना नआउञ्जेलसम्म स्थगित गरिएको क्लबका अध्यक्ष राजु श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिइसकेका छन् । ‘महोत्सवमा बुक गरिसकिएका स्टल व्यवसायीहरुलाई अर्को सूचना जारी भएपछि पुनः सोही स्टल उपलब्ध गराउने समेत जानकारी गराउदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने लेखनाथ महोत्सव माघ १३ देखि शुरु हुँदैछ । १७ औं संस्करणको उक्त महोत्सव माघ २४ सम्म आयोजना हुने तय छ । त्यस्तै, मोफसलकै चर्चित २० औं संस्करणको आहारारा गोल्डकप माघ ६ देखि सुरु हुँदैछ । पोखरामै अहिले टाइगर ग्रुपले आयोजना गरेको टाइगर कप आमन्त्रित महिलापुरुष भलिबल प्रतियोगिता भइरहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार गण्डकीमा मंगलबारसम्म ३ सय ५७ जना कोरोनाका सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा मात्रै गण्डकीमा १ सय १४ जना संक्रमित थपिँदा एकजनाको मृत्यु भएको छ ।

गण्डकीका कुल सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी कास्कीका छन् । तथ्यांकअनुसार कास्कीमा मंगलबारसम्म २ सय ६४ जना सक्रिय संक्रमित छन् । गण्डकीका मनाङ र मुस्ताङ जिल्लामामात्रै संक्रमित संख्या शून्य छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close