
पत्रकार माथी प्रहरीको ज्याती एकाएक बढ्दै
पर्सा प्रहरीले पछिल्लो एक सातामा यहाँका ४ जना पत्रकारलाई नियन्त्रणमा लिएको थियो । आइतबार दिउँसो मात्रै नयाँ पत्रिका दैनिकका पर्सा सम्वाददाता तिवारी यादवलाई नियन्त्रणमा लिएपछि पछिल्लो एकसातामा प्रहरीले नियन्त्रणमा लिएको पत्रकारको संख्या ४ पुगेको हो ।
एफएम स्टेशन प्रवेश गर्ने छेउकै सडकपेटीमा त्यहाँ कार्यरत पत्रकारहरुले आफ्नो सवारी साधन पार्किङ गर्नु पर्ने बाध्यता छ ।तिवारी यादवले पनि सडक पेटीमै मोटरसाईकल पार्किङ गरेका थिए ।
सडक पेटीमा मोटरसाईकल पार्किङ गरेको निहुँमा यादवलाई लछारपछार गर्दै प्रहरीले भ्यानमा हालेर लगेको हो ।
यादवले आफू पत्रकार रहेको परिचय पत्र देखाउँदा देखाउँदै पनि प्रहरीले जबर्जस्ति भ्यानमा हालेर जिल्ला प्रहरी कार्यालय पुर्यायो । जिल्ला प्रहरी कार्यालयमा पुर्याए पनि प्रहरीले यादवलाई बाहिर ननिकालि एक घण्टाभन्दा बढी समय भ्यानमा नै थुनेर राख्यो ।
पत्रकार यादव पक्राउ परेको खबर फैलिएसँगै सामाजिक सञ्जालमा पर्सा प्रहरी विरुद्ध विभिन्न खाले प्रतिकृया आउन थालेको छ । केहीले पर्सा प्रहरीको ज्यादती बढेको भनेका छन् भने केहीले प्रहरीले आफूलाई मात्रै फ्रन्टलाईन ठान्छ कि के हो भन्दै प्रश्न गरेका छन् ।पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराले सञ्चारकर्मीलाई प्रहरीले अनायासै दुख दिन थालेको भन्दै यसको शसक्त प्रतिकार गर्ने बताउनुभयो । यस अघि शनिबार साँझमात्रै तीन जना पत्रकारलाई प्रहरीले छाडेको थियो ।सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको विषयलाई लिएर धार्मीक सहिष्णुता विगार्न खोजेको भन्दै पर्सा प्रहरीले नेपाल टेलिभिजनका पर्सा सम्बाददाता नेहाल खान, सगरमाथा टेलिभिजनका सम्वाददाताद्वय मोहम्मद सद्दाम र आविदे हुसेनलाई नियन्त्रणमा लिएको थियो ।
तीनै जनालाई चार दिनसम्म दिनभर जिल्ला प्रहरी कार्यालयमा राख्ने र साँझ घर जान दिने गरेको थियो । कुनै मुद्धा पनि नचलाई चार दिनसम्म तारेखमा धाउन लगाएर तीनै जनालाई पर्सा प्रहरीले दुःख दिने मनसायले नियन्त्रणमा राखेको थियो । पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले तीनै जनालाई आवश्यक सोधपुछका लागि मात्रै नियन्त्रणमा लिएको प्रतिकृया दिएकी थिइन् ।



