
पर्सा, नेपाल — पर्सा जिल्लाको भिश्वा नाका हुँदै भारततर्फ ठूलो परिमाणमा भइरहेको तस्करी धन्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को छापापछि सार्वजनिक भएको छ। छापाका क्रममा झन्डै १० लाख भारतीय रुपैयाँ बराबरका चाइनिज स्याउ, कस्मेटिक तथा अन्य सामान बरामद गरिएको स्रोतले जनाएको छ।
प्राप्त जानकारी अनुसार, तस्करी गरेर भारततर्फ पठाइएका सामानहरू गोदाममा राखिएको अवस्थामा एसएसबीले फेला पारेको हो। लामो समयदेखि सक्रिय यस तस्करी धन्दाको नेतृत्व अनिल जैसवाल र रामु जैसवालले गर्दै आएको आरोप छ।
स्थानीय स्रोतका अनुसार, तस्करी कार्यका लागि “क्यारिङ” अर्थात् ढुवानीको जिम्मा लड्डु र पप्पुलाई दिइएको थियो। लड्डु नेपाली नागरिक हुन् भने पप्पु भारतको सिक्टा क्षेत्रका बासिन्दा रहेको बताइएको छ। यसअघि उक्त धन्दा मुन्ना जैसवालले सञ्चालन गर्दै आएका थिए। तर खर्च बढ्ने कारण देखाउँदै उनले आफ्नो नातेदार अनिल र रामुलाई जिम्मेवारी हस्तान्तरण गरेको जनाइएको छ।
भिश्वा नाकाबाट आउने अधिकांश सामान चाइनिज उत्पादन हुने गरेका छन्। ती सामग्रीहरू भिश्वास्थित पुरानो सिनेमा हलमा गोदाम गरी राखिन्छन् र अवसर मिलाएर पिकअप गाडीमार्फत भारततर्फ पठाइन्छ।
यता, सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बल (एपीएफ) लाई दिइएको छ। भिश्वा नाकामा बर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ, जसको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक अर्जुन दाहालले गर्दै आएका छन्। नाकामा सई बिरेन्द्र बोहरको कमान्डमा टोली खटिए पनि दैनिक ठूलो मात्रामा तस्करी भइरहेको स्थानीयको गुनासो छ।
एसएसबीको माथिल्लो कार्यालयबाट आएको टोलीले गरेको छापाले तस्करी नेटवर्कमा केही समयका लागि धक्का पुगेको देखिए पनि स्थानीय स्रोतले सुरक्षा निकायसँगको मिलेमतोमा धन्दा सञ्चालन हुँदै आएको दाबी गरेका छन्।
सम्पर्क गर्दा सशस्त्र प्रहरी निरीक्षक दाहालले “पुरानो सईलाई हटाइसकेको छु” भन्दै प्रतिक्रिया दिएपछि थप कुरा नगरी फोन काटेका थिए। यसले सुरक्षा संयन्त्रभित्रको समन्वय र पारदर्शितामाथि प्रश्न उठाएको छ।
विशेषज्ञहरूका अनुसार, बीओपी स्थापना भए पनि वास्तविक निगरानी प्रणाली कमजोर हुँदा तस्करी नियन्त्रण प्रभावकारी हुन सकेको छैन। दैनिक लाखौँ रुपैयाँ बराबरको राजस्व गुमिरहेको अवस्था रहेको उनीहरूको भनाइ छ।
तस्करीका कारण स्थानीय व्यापारीहरू प्रत्यक्ष मारमा परेका छन्। अवैध रूपमा सस्तो सामान बजारमा प्रवेश गर्दा वैधानिक व्यापार प्रभावित भएको र स्थानीय अर्थतन्त्रमा अस्थिरता आएको व्यवसायीहरूको गुनासो छ।
विश्लेषकहरूले सीमा क्षेत्रमा कडाइ, प्रभावकारी निगरानी प्रणाली, तथा सुरक्षाकर्मीहरूको स्पष्ट र पारदर्शी कमान्ड आवश्यक रहेको बताएका छन्। अन्यथा, यस्तो तस्करी नेटवर्कले राज्यको राजस्व मात्र नभई सामाजिक तथा आर्थिक संरचनामाथि समेत गम्भीर असर पार्ने चेतावनी दिएका छन्।




