
प्रतिगमन २ विरुद्ध नेपाली कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेविसंघले बीरगन्जसहित देशैभरिका जिल्ला सदरमुकामहरुमा मशाल जुलुस प्रदर्शन गरेको छ । सदन विघटन विरुद्ध कांग्रेसले आह्वान गरेको देशव्यापी आन्दोलन अन्तर्गत नेविसंघले प्रदर्शन गरेको हो ।
शनिबार बीरगन्जको घण्टाघरबाट नेविसंघले सुरु गरेको मशाल जुलुस माईस्थान चोक पुगेर समापन भएको थियो । नेविसंघ पर्साका सभापति विकास तिवारी र नेवि संघका ठाकुराम बहुमुखी क्याम्पस ईकाई कमिटीका अध्यक्ष मनोज कुमार साहको नेतृत्वमा प्रदर्शन गरिएको जुलुसमा केपी ओली मुर्दाबाद, प्रतिगमन मुर्दाबाद, महंगी, भ्रष्टाचार र सरकारका जनविरोधी क्रियाकलाप मुर्दाबादलगायतका नारा लगाउँदै प्रदर्शन गरेको थियो । 
प्रदर्शनमा अभय कर्ण, शेष हजरा, पुर्व स्ववियु सदस्य धर्मराज यादव, जिल्ला उपाध्यक्ष शेष हजरा, सचिव समिर मंसुरी, सह सचिव सेराज अंसारी, केशवराज मिश्रलगायत विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।
केपी ओली नेतृत्वको सरकारले देशलाई अस्थिरतामा लगेको भन्दै प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । पटकपटक असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी निर्णय गर्दै आएको वर्तमान सरकारबाट समृद्धि सम्भव नभएको प्रदर्शनमा सहभागि एक नेताले बताए ।
नेविसंघले प्रदर्शन गरेको मशाल जुलुसका क्रममा प्रहरीले हस्तक्षेप पनि गरेको थियो । 




