आज सर्वदलीय बैठक बस्दै

संसद् अवरोध र एमसीसीकाे विषयमा छलफल हुने

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री देउवाले संसदमा भइरहेकाे अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो ४ बजे बैठक बोलाउनु भएको हो। बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ। तर, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ।

एमालेले कारबाही गरेका व्यक्ति समेटेर दर्ता भएको दल नेकपा एकीकृत समाजवादी सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उप–नेता सुवास नेम्वाङले बताउनुभयो । यसअघि पनि नेकपा एसको सहभागितालाई लिएर एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।

एमालेको अवरोधका कारण दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । बैठकमा प्रधानमन्त्री देउवाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्बन्धी सम्झौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल गर्ने तयारी पनि गर्नु भएको छ ।  सरकारले संसद्को चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ ।

तर नेकपा एमालेले आफूले सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद् अवरोध गर्दै आएको छ । त्यस्तै सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दल एमसीसी सम्झौता जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा छन् । यसले गर्दा प्रधानमन्त्री देउवालाई एमसीसी पारित गर्न चुनौती देखिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close