बढ्यो बिजुलीको माग, ३० प्रतिशतको हाराहारीमा पिक डिमाण्ड बढ्नु ठूलो उपलब्धि : प्राधिकरण

आन्तरिक रुपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरुलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीति अनुसार काम भइरहेको छ । विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोग बढ्नु, ठूला उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध गराउनुलगायतका कारणले दैनिक रुपमा खपत बढिरहेको छ ।

प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएको छ । विद्युत् बढी खपत हुने काठमाण्डौ उपत्यकासहित आसपासको क्षेत्रमा विद्युत् माग पनि ह्वातै बढेको छ । काठमाण्डौ उपत्यकाको विद्युतकाे अधिकतम माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ । गएको वर्ष २९३ मेगावाट रहेको काठमाण्डौ उपत्यकाको पिक डिमाण्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएको वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमाण्ड बढ्नु ठूलो उपलब्धि भएको बताउनुभयो । घिसिङले उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखेर अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताउनुभयो ।

प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको उहाँको भनाइ छ । दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ ।

प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगहरुलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरिरहेको छ । मुख्य रुपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close