श्चिम देशमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको छ ।
थुप्रै देशले स्थिती नियन्त्रणका लागि कडा कदम उठाएका छन् ।
यसमा स्कूल, कलेज बन्द गर्नेदेखि विभिन्न प्रकारका प्रतिबन्ध समावेश छन् ।
पश्चिमी देशसँग तुलना गर्ने हो भने सिंगापुर, हङ्गकङ्ग र ताइवानमा थुप्रै हप्ताअघि नै कोरोना भाइरस फैलिएको थियो ।
तर चीनको नजिकै भएपनि यी एशियाली देशमा संक्रमणको मामला संसारका अन्य देशको तुलनामा निकै कम छ ।
यी देशले आखिर त्यस्तो के गरे जुन अन्य देशका लागि पाठ बन्न सक्छ ? आउनुहोस्, यसबारे जानकारी लिऔं ।
पहिलो पाठः गम्भीरता अपनाउनुहोस् र तुरुन्त व्यवहारमा उत्रनुहोस्
स्वास्थ्य विशेषज्ञ संक्रमण फैलनबाट रोक्नका लागि आवश्यक कदमको विषयमा एकमत छन् – धेरैभन्दा धेरै परीक्षण गर, संक्रमितलाई अलग राख र सोसल डिस्ट्यान्सिङ अर्थात् भीडभाडमा जान र मानिसहरुको नजिक जानबाट बच ।
अब पश्चिमी देशमा यस्ता कदम उठाइँदैछन् तर समस्या यो हो कि विभिन्न देशले तुरुन्त यसलाई व्यवहारमा उतार्न सकेनन् । विश्व स्वास्थ्य संगठनमा रिसर्च पोलिसीका पूर्व निर्देशक पंगेस्तू भन्छन्, ‘अमेरिका र ब्रिटेनले एक अवसर गुमाएको छ । उनीहरुसँग दुई महिनाको समय थियो तर उनीहरुलाई लाग्यो कि चीन निकै टाढा छ त्यसकारण केही हुँदैन ।’
विश्व स्वास्थ्य संगठनलाई चीनले गत डिसेम्बर ३१ तारिखमा नै ‘सार्स जस्तै रहस्मयी निमोनिया’ बारे जानकारी दिएको थियो । त्यतिबेलासम्म यो मानिस–मानिसबीच फैलन्छ भनेर पुष्टिसमेत भएको थिएन । भाइरसबारे खासै जानकारी पनि थिएन तर तीन दिनभित्र सिंगापुर, ताइवान र हङ्गकङ्ले आफ्नो सीमामा स्क्रिनिङ सुरु गरिदिए ।
ताइवानले ऊहानबाट आउने विमानका यात्रीलाई ओर्लनु अघि नै परीक्षण पनि गर्यो । पछि वैज्ञानिकहरुले लक्षण नदेखिएका संक्रमित व्यक्तिले पनि अन्य व्यक्तिलाई संक्रमण फैलाइरहेको बारे तथ्य फेला पारे । त्यसकारण कोरोनाको पुष्टिका लागि परीक्षण गर्नु निकै महत्वपूर्ण भयो ।
दोस्रो पाठः परीक्षणलाई सुलभ र सस्तो बनाइयोस्
सुरुमा दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या तीब्र रुपमा वृद्धि भयो । तर यो देशले संक्रमणको पुष्टि गर्नका लागि टेस्ट किट विकसित गर्यो र २ लाख ९० हजारभन्दा बढीको परीक्षण गर्यो । यहाँ हरेक दिन करिब १० हजार व्यक्तिको निःशुल्क परिक्षण भइरहेको छ ।
नेशनल युनिभर्सिटी अफ सिंगापुरमा इमर्जिंग इन्फेक्सियस डिजिजेजका प्राध्यापक ओई इंग इयांन्ग भन्छन्, ‘जसरी उनीहरुले प्रबन्ध मिलाए र जनताको परीक्षण गरे त्यो कमाल छ ।’
सन् २०१५ मा जब मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम फैलिएको थियो तब दक्षिण कोरियामा ३५ जनाको मृत्यु भएको थियो । त्यतिबेलादेखि यहाँ संक्रमित रोगको परीक्षणको मञ्जुरीका लागि विशेष व्यवस्था मिलाइएको छ । यसमार्फत् तुरुन्त परीक्षण गर्न सकिन्छ ।
यस्तै, अमेरिकामा परीक्षण गर्न ढिलाई गरियो । सुरुवाती टेस्ट किट बिग्रिएका थिए र नीजि प्रयोगशालामा गरिएको परीक्षणले मञ्जुरी पाउन ढिलाई भयो । धेरैले यो परीक्षण महँगो भएका कारण गराएनन् । पछि कानून बनाइयो र सबैका लागि निःशुल्क परीक्षणको बन्दोबस्त मिलाइयो ।
यसैबीच ब्रिटेनले अस्पतालमा भएकाहरुको पालैपालो परीक्षण गरिने बतायो । यसले कोरोनाको लक्षण नदेखिएका तर संक्रमित व्यक्तिको पहिचान गर्न मुश्लिक बनायो । प्राध्यापक पगेस्तूले भने, ‘कुनै देशमा त परीक्षणका लागि पर्याप्त उपकरणसमेत छैनन् ।’
यद्यपि, उनले व्यापक स्तरमा परीक्षणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनले भने, ‘यसो गरे यता उती डुलेर अरुलाई पनि संक्रमण फैलाइरहेका लक्षण नदेखिएका कोरोनाका संक्रमितको पनि पहिचान हुनसक्छ ।’
तेस्रो पाठः पहिचान गर्नुहोस् र छुट्टै राख्नुहोस्
जुन व्यक्तिमा लक्षण देखिएको छ उनीहरुको पहिचान गर्नु मात्रै पर्याप्त होइन । उनीहरु क–कसको सम्पर्कमा आइरहेका छन् यसबारे पत्ता लगाउन पनि निकै महत्वपूर्ण छ । सिंगापुरमा जासुसले ६ हजार यस्ता व्यक्तिको सिसिटिभी फुटेजलगायतको माध्यमले पहिचान गरे जो संक्रमित व्यक्तिको सम्पर्कमा हुनसक्थे ।
त्यसपछि उनीहरुको समेत परीक्षण गरियो र उनीहरुलाई स्पष्ट नतिजा नआएसम्म एक्लै बस्न आदेश दिइयो ।
जुन व्यक्तिलाई एक्लै बस्न भनिएको छ उनीहरुले यस्तो गरे नगरेको परीक्षण गर्नका लागि विभिन्न तरिका अपनाइएको छ । हङ्गकङ्गमा विदेशमा आउने व्यक्तिको पाखुरामा एउटा इलेक्ट्रिक ब्रासलेट लगाइन्छ जसले उनीहरुको हिँडाई ट्र्याक गर्छ ।
चा
चौथो पाठः अधिकार र स्वतन्त्रता
सिंगापुरमा जुन व्यक्तिलाई घरमा छुट्टै बस्न भनिएको छ उनीहरुलाई दिनको थुप्रै पटक सम्पर्क गरिन्छ र उनीहरु कहाँ छन् भनेर पत्ता लगाउनका लागि फोटोसमेत मगाइन्छ ।
सिंगापुरमा जुन व्यक्तिलाई घरमा नै बस्न भनिएको छ, यदि उनीहरुले आदेशको उल्लंघन गर्छन् भने उनीहरुमाथि भारी जरिवाना लगाइन्छ र जेलसम्मको सजाय हुनसक्छ । एक यस्तै व्यक्तिको सिंगापुरमा बस्ने अधिकारसमेत खोसिएको छ ।
थुप्रै पश्चिमी देश यस्तो प्रकारको कदम उठाउन सकिरहेका छैनन् किनभने त्यहाँ जनसंख्या धेरै छ र नागरिकको अधिकार र स्वतन्त्रता पनि धेरै छ ।
प्राध्यापक ओई भन्छन्, ‘हाम्रो जनसंख्या कम भएर यस्तो गर्न सफल भएका हौं । संसारभरीका देशले यस्तो गर्न सक्दैनन् । हाम्रै बाटोमा हिँड्नुपर्छ भन्ने छैन, हरेक देशले आफ्नो हिसाबले सिस्टम बनाउनुपर्नेछ ।’
पाँचौं पाठः समय हुँदा नै सामाजिक दुरी (सोसल डिस्टेन्सिङ)
कुनै पनि व्यापक संक्रमणलाई रोक्नका लागि सोसल डिस्टेन्सिङ सबैभन्दा उत्कृष्ट तरिका मानिन्छ । तर यसो गर्न जति ढिला गरियो त्यति नै स्थिती नियन्त्रणका लागि अत्यधिक प्रयास गर्नुपर्छ । चीनको ऊहानमा जहाँबाट कोरोना फैलियो, शट डाउन हुनुअघि नै ५० हजार मानिस त्यहाँबाट अन्यत्र गइसकेका थिए ।
इटली र स्पेन दुबैलाई राष्ट्रिय स्तरमा लकडाउन गर्नुपर्ण किनभने त्यहाँ प्रभावित व्यक्तिको संख्या हज्जरौंमा पुगेको थियो । न्यूयोर्क र क्यालिफोर्नियामा पनि मानिसहरुलाई घरभित्रै बस्न भनिएको छ । उनीहरु अत्यावश्यक घरेलु सामग्री जस्तै अन्न, सागसब्जी र फलफूल किन्नका लागि घरबाट बारिह निस्कन सक्छन् ।
सिंगापुरमा धेरै संख्यामा मानिसहरुलाई भेला हुन रोक लगाइएको छ । हङ्गकङ्गमा स्कूल बन्द गरिएको छ र मानिसहरुलाई घरबाट काम गर्न भनिएको छ । तर पनि त्यहाँका रेष्टुरेन्ट र बार खुल्ला छन् ।
प्राध्यापक ओईका अनुसार सोसल डिस्टेन्सिङ लागू गर्न सरकारले लिएको समयले यहाँ अन्तर देखाउँछ । उनी भन्छन्, ‘धेरैजसो देशले त्यतिबेला नियम बनाए जब संक्रमण निकै बढेको थियो । यस्तोमा उनीहरुले कडा कदम उठाउनु पर्यो ।’
स्कूल बन्द गर्ने वा मानिसहरु जम्मा हुँदा लाग्ने सरकारी प्रतिबन्धबाहेक मानिसहरुको आफ्नो इच्छाले पनि सोसल डिस्टेन्सिङको सफलता निर्धारण गर्छ । त्यसकारण जनतालाई जागरुक गर्नु र मानिसहरुको व्यवहारले पनि निकै महत्व राख्छ ।
छैटौं पाठः जनतालाई जानकारी दिइरहनुहोस्
प्राध्यापक पंगेस्तू भन्छन्, ‘जबसम्म जनताले सहयोग पाउँदैनन् तबसम्म सबै नीति र कदम बेकार हुन्छन् । सबैभन्दा महत्वपूर्ण के हो भने तपाईंले जुन नीति बनाउनु भएको छ, त्यसको वैज्ञानिक आधारबारे जानकारी दिँदै जनतालाई विश्वास दिलाउनुपर्छ । ’
चीनको यसकारण आलोचना भयो किनभने उसले संत्रमण फैलिएको कुरा स्विकार गर्न ढिलाई गर्यो । उसले ऊहानमा ठूला राजनीतिक र्याली हुन दियो । प्रशासनले ती डाक्टरलाई सजाय दियो जसले खतराबारे पूर्व जानकारी दिएका थिए ।
अब भाइरस फैलनबाट रोक्न जुन कदम चीनले उठायो त्यसको तारिफ भइरहेको छ । चीनले थुप्रै शहर लकडाउन गर्यो र अस्पतालको क्षमता बढायो । तर यस्तो कडा कदम त्यतिबेला मात्रै उठाउनुपर्छ जब सुरुवात ढिलो गरिन्छ ।
अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले पनि आउटब्रेक र टेस्ट किट्सबारे अधिकारीको धारणाभन्दा भिन्न बयान दिएका छन् । सरकारले पनि कतिजनाको परीक्षण गरियो भनेर सही जानकारी दिएन किनभे धेरै नीजि प्रयोगशालाले पर्याप्त जानकारी दिइरहेका थिएनन् ।
प्राध्यापक ओई भन्छन्, ‘संक्रमणको विषयमा जानकारी पारदर्शी हुनुपर्छ । हङ्गकङ्गले अनलाइन ड्याशबोर्ड बनाएको छ जहाँ कुन घरका व्यक्तिलाई कोरोना संक्रमण पाइएको छ भनेर हेर्न सकिन्छ । दक्षिण कोरियाले मानिसहरुलाई मोबाइलमार्फत् उनीहरुको आसपास कोही बिरामी छन् कि भनेर सूचना जारी गर्छ ।
सिंगापुरमा सरकारले कोरोना भाइरसको विषयमा स्पष्ट जानकारी दिएको छ । प्रधानमन्त्रीले मानिसहरुलाई डराएर अतिरिक्त सामान खरिद नगर्न अपिल गरेका छन् । सरकारको यो पहललाई मानिसहरुले समर्थन पनि गरेका छन् ।
सातौं पाठः मानिसहरुलाई सहयोग
यो भन्न सजिलो छ र धेरैले भन्छन् पनि एशियाली जनता सरकारी आदेशलाई मान्न तयार भइहाल्छन् । हङ्गकङ्गमा सरकारमाथि जनताको विश्वास कम भएता पनि त्यहाँ थुप्रै महिनासम्म सरकार विरोध प्रदर्शन जारी रह्यो ।
तर संसारको सबैभन्दा घना जनसंख्या भएको शहरमध्ये एकका थुप्रै जनता आफ्नै इच्छाले छुट्टै बसेका छन् । कतिले त वार्षिक लूनर न्यू इयरमा हुने समारोहमा पनि भाग नलिने घोषणा गरे ।
प्राध्यापक पेंगेस्तूले भनेका छन्, ‘हङ्गकङ्गका मानिसहरु सरकारमाथि विश्वास गर्दैनन् तर उनीहरु हङ्गकङ्गमाथि गर्व गर्छन् र उनीहरु कोरोना भाइरसलाई आफ्नो इलाकाको पहिचानका लागि खतराको रुपमा हेर्छन् ।’
सिएटेलमा नर्स र डाक्टर्र विदाउट बोर्डरको इमर्जेन्सी फिल्ड कोओर्डिनेटर करिन हस्लरले कोरोना भाइरस तालिमका लागि हङ्गकङ्गमा एक महिना बिताइन् । उनी भन्छिन्, ‘त्यहाँ मानिसहरुमा ठूलो जिम्मेवारीको भाव छ । मानिसहरुलाई सन् २००३ को सार्स संक्रमण याद छ जसले उनीहरुको इलाकामा ठूलै समस्या निम्त्याएको थियो ।
आठौं पाठः जिम्मेवारीको प्रतिक
एशियाको विभिन्न हिस्सामा मास्कको पनि खुबै प्रयोग हुन्छ । हस्लर भन्छिन्, ‘यो एक–अर्काप्रति जिम्मेवारीको प्रतिक हो । मैले याद गरेकी छु । मैले मास्क नलगाएका कारण धेरैजसो मानिस मसँग लिफ्ट जानबाट बच्थे । यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने पश्चिमी देशमा मानिसहरुलाई मास्क नलगाउन सल्लाह दिइएको छ ।’
मास्क लगाउने केही एशियाली जनताले दुर्व्यवहारको पनि सामना गर्नुपर्यो । एशियामा विशेषज्ञका अनुसार हात धुने तरिकामा मास्क लगाउनु कम प्रभावकारी हुन्छ । तर अहिले यो कुरामा मत बाझिएको छ ।
हङ्गकङ्गमा एपिडेमियोलोजीका प्राध्यापक बेन्जामिन कलिङ भन्छन्, ‘मास्क कोरोना भाइरसविरुद्ध जादुको छडी होइन । तर सबैले मास्क लगाउँछन् भने अन्य उपायझैं यसले पनि संक्रमण फैलनबाट रोक्नेछ । ’




