
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशकाे सभ्यता, इतिहास र संस्कृति जोगाउन आवश्यक रहेको बताउनुभएको छ । एमाले अध्यक्ष ओलीले सभ्यताको सृष्टि भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढ्दामात्रै इतिहासमाथि न्याय हुने बताउनुभयाे ।
‘संस्कृति बचाऊ’ अभियन्ताहरूसँग आज बुधवार आफ्नै निवास बालकोटमा भएको भेटमा उहाँले देशका पूर्वजहरूसँग अरू कसैकाे तुलना हुन नसक्ने बताउनुभयो । उहाँले सभ्यताको ज्योति यहाँ बलेको र अरूले झिल्को लगेर नयाँ सभ्यताको विकास गरेको प्रवचनसमेत दिनुभयो । अध्यक्ष ओलीले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरूलाई आफ्नो सदा साथ रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले गुरुत्वाकर्षणकाे सिद्धान्त न्युटनले भन्दा हजारौँ वर्ष अगाडि हाम्रा पूर्वज भास्कर आचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको दाबी गर्नुभयो । उहाँले अष्टवक्रजस्ता दार्शनिकहरूकाे चर्चा हुन नसकेको पनि भन्नुभयो । अध्यक्ष ओलीले हाम्रो संस्कृतिले हामीलाई विषरहित भान्साको उपहार दिएको पनि बताउनुभयो ।