
दक्षिण एशियाली पत्रकारहरुको साझा मञ्च सार्क जर्नलिष्ट फोरमको आयोजनामा आगामी मे ५ र ६ तारिख (बैशाख २२ र २३ गते) इण्डो-नेपाल बंगलादेश सञ्चार सम्मेलनको आयोजना गरिने भएको छ। फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले दिनुभएको जानकारी अनुरुप आगराको क्लार्क्स शिराज होटलमा हुने सम्मेलन पछि पत्रकारहरुले आगराका ऐतिहासिक
स्थानहरु ताज महल र फतेहपुर सिकारीको अवलोकन भ्रमण गर्नेछन्।
सम्मेलनपश्चात् सहभागीहरुलाई राजस्थानको जयपुर पनि भ्रमण गराइने उहाँले बताउनु भएको छ ।
उहाँले सो सम्मेलनमा सहभागी हुन चाहनेहरुले सार्क जर्नलिष्ट फोरमको राष्ट्रिय समितिमा सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन पनि अनुरोध गर्नुभएको छ ।
यसैबीच सार्क जर्नलिष्ट फोरमको नेपाल च्याप्टरको शनिवार बसेको बैठकले आगामी चैत महिनामा पहिलो नेपाल सम्मेलनको आयोजना गर्ने भएको छ ।
नेपाल च्याप्टरका संयोजक प्रकाश सिलवालको नेतृत्वमा
काठमाडौँमा हुने सम्मेलनको तयारीका लागि संगठन विभागका प्रमुख रुपेश आचार्य, आर्थिक विभागका प्रमुख सुरेन्द्रभक्त श्रेष्ठ, प्रचार विभागका प्रमुख रत्न काजी महर्जन र सचिवालय सदस्य कविता थापा रहेको तयारी समिति गठन गरेको छ। सम्मेलन अगावै सार्क जर्नलिष्ट फोरमको सदस्यता वितरण गरिने र यसका लागि सचिवालय सदस्यहरुसँग सम्पर्क गर्न सकिने आर्थिक विभाग प्रमुख श्रेष्ठले बताउनु भयो ।




