वीर अस्पतालमा किट सकियो, कोरोना परीक्षण बन्द

काठमाडौं । वीर अस्पतालमा किट सकिएपछि कोरोना परीक्षण बन्द भएको छ । आइतबारदेखि कोरोना (कोभिड–१९) परीक्षणका लागि चाहिँने आरएनए एक्ट्रयाक्सन किट सकिएपछि परीक्षण बन्द गरिएको वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई ४ सय किट उपलव्ध गराएको थियो ।

अस्पतालले मन्त्रालयकै अनुरोधमा प्रदेश नम्बर ६ मा दुई सय किट पठाएको समेत उनले जानकारी दिए । ‘कोरोना परीक्षणका लागि किट अभाव हुन थालेपछि अस्पतालले मन्त्रालयलाई केहि दिन अघि जानकारी हो’ उनले भने, ‘वीर अस्पतालमा पिसिआर विधिबाट दैनिक २१–२२ वटा नमुना परीक्षण हुँदै आएको थियो ।’

देशका १८ स्थानमा पिसिआर विधिबाट कोरोना परीक्षण हुँदै आएको छ । वीर अस्पतालमा जस्तै अन्य स्थानमा पनि किट अभावका कारण कोरोना परीक्षण रोकिन सक्ने सम्भावना बढ्दै गएको बताइएको छ । हालसम्म पिसिआर विधिबाट १३ हजार ६ सय ४० जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दैनिक २० देखि २२ जनासम्मको कारोना परीक्षण हुँदै आएकोमा अहिले सो काम ठप्प भएको  वीर अस्पतालकी प्याथोलोजी विभागकी प्रमुख डा.प्रतिभा विष्टले जानकारी दिइन् । ‘संक्रमण बढेका बेला झन धेरै व्यक्तिको पीसीआर परीक्षण गर्नुपर्ने बेलामा किटको अभाव भएको छ’ उनले भनिन् ।रातोपाटी

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close