
हुलाकी सडक अन्तर्गत पर्ने बडहर्वा– छतौना–रौतहट–सर्लाहीको ठेकेदारले गरेको लापरवाहीका कारण सडक भत्कन थालेको छ ।
मरम्मत तथा निर्माण कार्य सडक छेउकै माटो खनेर गर्न थालेपछि अहिले निर्माण भएको सडक भत्किन थालेको हो । थोरै वर्षा हुँदा सडक भत्कन शुरू भएको स्थानीयवासीले बताए ।
सो सडक बालुवामा पानी हाले सरह भएको स्थानीय जितु ठाकुरले बताए । हुलाकी सडक जनकपुरका प्रमुख कृष्ण महतोको मिलेमतोमा सडक निर्माणमा व्यापक अनियमितता भएको ठाकुरले बताए । प्रमुख महतोको मिलेमतोमा ठेकेदारले लापरवाहीपूर्वक कार्य गरी भुक्तानी लिने गरेको बताइन्छ ।
ठूलो वर्षा भए सडक विलीन हुने भएपछि स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा उजूरी दिने तयारी गरिरहेको उनले बताए ।
यस सम्बन्धमा प्रमुख महतोसँग सम्पर्क गर्दा ठेकेदारलाई खाल्डो पुर्न भनेकोमा पहिलेदेखि नै खनिएको खाल्डो नपुर्ने ठेकेदारले अडान लिएको बताए ।
सडक निर्माण पहिले डिभिजन कार्यालय चन्द्रनिगाहपुरबाट भएको बताउँदै सोही बेला ठेकेदारले लापरवाही गरेको उनको दाबी छ ।
सडक अनियमिततामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आफूले बारम्बार ठेकेदारलाई खाल्डो पुर्न भनेको उनले जवाफ दिए ।
उक्त खाल्डो भर्न बाहिरबाट माटो ल्याउन सम्भव नरहेकोले स्थानीयको सहयोगमा माटो पुर्न आग्रह गरेका छन् । ममाथि लगाइएको आरोप झूटा हुन् उनले बताए । eprateekdaily




