प्रतीक दैनिकको वार्षिक उत्सवमा ‘स्व. सुबोध स्मृति पत्रकारिता पुरस्कार’ क्रान्ति शाहलाई प्रदान गरिने

स्थानीय पत्रकारितामा क्रियाशीलता, निष्पक्षता र जनउत्तरदायित्वलाई सम्मान गर्दै प्रतीक दैनिकले यस वर्षको ‘स्व. सुबोध स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार क्रान्ति शाहलाई प्रदान गर्ने निर्णय गरेको छ।

आगामी भदौ १ गते प्रतीक दैनिकको वार्षिक उत्सवका अवसरमा शाहलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिनेछ। उनी अन्नपूर्ण पोस्टका पर्सा जिल्ला प्रमुख संवाददाता तथा मधेस खबरका सञ्चालक समेत हुन्। पत्रकारितामा दुई दशकभन्दा लामो समर्पण, निर्भीक दृष्टिकोण र सत्यका पक्षमा कलम चलाउँदै आएका शाह मधेस र सीमावर्ती क्षेत्रका सामाजिक, राजनीतिक तथा आर्थिक विषयहरूमा आवाज बुलन्द गर्ने एक अग्रणी पत्रकारका रूपमा चिनिन्छन्।

कार्यक्रममा अन्य दुई श्रेणीमा पनि पत्रकारहरूलाई सम्मान गरिने भएको छ। श्रेष्ठ स्तम्भकारको रूपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, र श्रेष्ठ संवाददाताको रूपमा महासंघका सदस्य प्रमोद यादवलाई समेत सम्मानित गरिने छ।

प्रतीक दैनिकका अनुसार, पत्रकारिताको विविध विधामा समर्पित स्रष्टाहरूको योगदानलाई उजागर गर्दै गरिने यस्ता सम्मानले स्थानीय पत्रकारिता क्षेत्रको मूल्य, गरिमा र प्रेरणा बढाउने विश्वास लिइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close