
राहुल गुप्ता
जेनजी आन्दोलनका क्रममा घाइते भएकी नगर प्रहरी जवान अन्जली पटेलको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा गरिएको नि:शुल्क उपचारप्रति विभिन्न निकायबाट प्रशंसा व्यक्त भएको छ। वीरगञ्ज हेल्थ केयर हस्पिटलका अध्यक्ष डा. अबुल हैस अन्सारीले घाइते सुरक्षाकर्मीप्रति मानवीय संवेदनाको आधारमा सम्पूर्ण उपचार खर्च मिनाहा गरिएको जानकारी दिनु भएको छ।
डा. अन्सारीले भन्नुभयो,“देश र समाजका लागि दिनरात खटिने सुरक्षाकर्मीहरू संकटमा पर्दा हामी नागरिक, चिकित्सक र संस्थाहरूको दायित्व पनि साथ दिनु हो। नगर प्रहरी जवान अन्जली पटेलमाथि भएको घटनाले हामीलाई दुःखी बनायो। त्यसैले वीरगञ्ज हेल्थ केयरको तर्फबाट उहाँको उपचार पूर्ण रूपमा नि:शुल्क गरिएको हो।”
उहाँका अनुसार, उपचारको क्रममा लाग्ने शल्यक्रिया, परीक्षण, औषधि तथा सेवा शुल्क सबै अस्पतालले वहन गरेको हो। दुई दिनसम्म अस्पतालमा भर्ना गरि उपचार गरेपछि स्वास्थ्य अवस्था सामान्य भएपछि उहाँलाई डिस्चार्ज गरिएको हो।
डयुटीमा खटिँदै गर्दा प्रदर्शनकारीद्वारा ढुंगामुढा हुँदा गम्भीर घाइते भएकी पटेललाई तत्काल उद्दार गरी अस्पताल ल्याइएको थियो। टाउकोमा चोट लागेपछि उनी केही समय अचेत भएकी थिइन्।
डा. अन्सारीले थप भन्नुभयो,“वीरगञ्ज हेल्थ केयर हस्पिटलले सधैं आपतकालीन अवस्थामा पीडितलाई सहयोग गर्ने नीति लिएको छ। चाहे त्यो सुरक्षाकर्मी होस् वा सर्वसाधारण, संकटमा परेकालाई साथ दिनु नै हाम्रो सामाजिक जिम्मेवारी हो।”




