
तआजको अङ्कमा प्रस्तुत छ— कृषक परिवारमा जन्मिएका एक साधारण तर असाधारण बुबाको कथा । जसले पसिना, श्रम र अनुशासनले न केवल आफ्नो परिवार, अपितु समाजको चेतनामा अमिट छाप छोडेका छन् ।
उनको जीवन, सङ्घर्ष र मूल्यमान्यता सन्तानका दृष्टिले सजीव प्रेरणापत्र बनेको छ । आजको कथामा उनका जीवनका ती पानाहरू खुल्दै जान्छन्, जसमा घाम, श्रम र माटोको गन्ध मिसिएको छ ।
वीरगंज महानगरपालिका–१० का स्थायी बासिन्दा र नेपाल पत्रकार महासङ्घका सदस्य राहुल गुप्तासँग उनका बुबा नन्दुसाह कानूको जीवन सङ्घर्षबारे गरिएको संवादको सङ्क्षिप्त अंश प्रस्तुत छ :–
बाल्यकालमा हामी भाइबहिनीहरूको अधिकांश समय हजुरबुबा वा बुबाको ओछ्यान वा काखमा व्यतीत हुन्थ्यो । यही अवसरमा उहाँहरूमार्फत परिवार र घडीअर्वा गाउँको मात्रै होइन, तत्कालीन वीरगंज शहरका थुप्रै प्रसङ्ग र पारिवारिक दुःखसुखका कुराहरू सुन्न पाइन्थ्यो ।
म २८ वर्षे युवक हुँ र नेपाल पत्रकार महासङ्घ, पर्साको सदस्य पनि । बुबाका अतीत स्मरण गरिरहँदा हृदय भावविह्वल हुन्छ । यद्यपि छोराको दृष्टिले उहाँको अतीत साझा गर्न पाउँदा खुशी पनि छु ।
बुबाको बाल्यकाल तत्कालीन वीरगंजको परिवेशसँग गहिरोरूपमा गाँसिएको छ । पुरानियाहरूका अनुसार त्यो समय वीरगंज अझै पुरानो स्वरूपमा बाँचेको शहर थियो । सडकहरूमा धूलो, साँझ परेपछि प्रायः घरमा बत्तीको सट्टा टुकीको उज्यालो, अनि वरिपरिका गाउँटोल चकमन्न हुन्थ्यो ।
त्यो वीरगंज शहर साँझ पर्नासाथ शान्त र मौन बन्थ्यो । आधुनिकता छेउछाउ पनि नभएको त्यो कालमा जीवन सरल थियो, तर आर्थिक रूपले धेरै कठिन । गरीबी र सीमितताबीच पनि सम्बन्धको उष्णता र पारिवारिक मायाप्रेम घनीभूत थियो ।
बुबाले सानै उमेरदेखि माटो र पसिनासँगै आत्मनिर्भरतालाई जीवनको अभिन्न हिस्सा भनेर सिक्नुभयो । बिहानै उठ्ने, विद्यालय जाने, फर्केर खेतबारीको काम गर्ने र बेलुकी टुकीको उज्यालोमा पढ्ने— त्यो दिनचर्या बुबाको अनुशासित जीवनको प्रारम्भकाल थियो ।
बुबा घण्टाघरस्थित नेपाल रेल्वे माविमा अध्ययन गर्नुहुन्थ्यो । पञ्चायती शासनको समय, जसले देशमा राजनीतिक स्थिरता ल्याए पनि जनजीवनमा अभाव र मौनता फैलाएको थियो ।
हजुरबुबा भन्नुहुन्थ्यो–वीरगंजको घडीअर्वा गाउँ मात्र होइन, वीरगंजको मुख्य सडकबाहेक पक्की सडक थिएन ।
विद्यालय पुग्न बिहानै बुबा खेतबारी सकेर, धुलाम्य बाटोमा हिंड्नुपर्ने, वर्षात्मा घुँडासम्म पानीमा तरेर जानुपर्ने— त्यो सङ्घर्ष नै उहाँको शिक्षा थियो ।
पढाइका साथै घरको आर्थिक जिम्मेवारी पनि कम थिएन । खेतीपाती, गोरु–गोठाला आदिबाट शुरू भएको जीवन बिस्तारै जिम्मेवारीको भारीतिर अघि बढ्दै गयो ।
झन्डै साढे तीन दशक अघि बुबाको विवाह मेरी आमा संजुदेवीसँग भयो । समयक्रमसँगै हामी दुईजना दाजुभाइ र एक बहिनीको जिम्मेवारी पनि बुबाको काँधमा आइप¥यो ।
बुबाका हजुरबुबा स्वर्गीय रामलालसाह कानू पञ्चायतकालमा वीरगंज कारागारको राशनका ठेकेदार हुनुहुन्थ्यो । अनि मेरो हजुरबुबा स्वर्गीय मङ्गलसाह कानू मीनाबजारका संस्थापक हुनुहुन्थ्यो ।
यसैगरी रानीघाटमा चामल मिल र नारायणघाटमा चामलको व्यापार थियो । तर, माओवादी द्वन्द्वकालको बेला अनेक प्रकारका प्रताडनाका कारण व्यापार बन्द गरी वीरगंज फर्कनुप¥यो ।
त्यसले परिवारको आर्थिक स्थिति कमजोर भयो । बुबाको जीवनमा परिवारको त्यो व्यापारिक चेतना र श्रम संस्कार नै आधारभूत प्रेरणा बन्यो । त्यो पेशा मात्रै होइन, जिम्मेवारी र विश्वासको प्रतीक थियो ।
पूर्वजहरूले श्रम, इमान र सामाजिक कर्तव्यको बीउ बुबाको हृदयमा रोपिदिएका थिए ।
युवावस्थामा प्रवेश गर्दा बुबाका जीवनमा नयाँ अध्याय शुरू भयो— सङ्घर्ष र जिम्मेवारी । तीन दाजुभाइ र दुई दिदीबहिनीमध्ये माइलो छोरा भएर पनि बुबाले सानै उमेरदेखि घरको सबै जिम्मेवारी सम्हाल्नुभयो ।
आप्mनो जहानसहित आमाबुबाको सेवा, भाइबहिनीको पालनपोषण, खेतीपाती र बजारको काम, सारा दायित्व उहाँकै काँधमा आइप¥यो ।
आर्थिक कठिनाइका कारण पढाइ रोकेको भए पनि शिक्षाको मूल्य उहाँको सोचमा कहिल्यै घटेन । उहाँ सधैं भन्नुहुन्छ–“ज्ञान भनेको माटोमा होइन, मनमा उब्जिन्छ ।”
आर्थिक कठिनाई बुबाको जीवनको स्थायी साथीजस्तै भयो । तर त्यस कठिनाईले उहाँलाई कहिल्यै झुकाउन सकेन । बुबाले कहिल्यै अभावको कुरा गर्नुभएन, बरु सधैं हाम्रो खुशीका लागि केही न केही उपाय निकाल्नुभयो ।
उहाँले खेतमा पसिना बगाउनुका साथै अनेकथरी काम गर्नुभयो । कुनै पनि कामलाई सानो ठान्नुभएन । उहाँको नजरमा श्रम पूजा हो र पसिना आस्था ।
पुरनियाहरूका अनुसार त्यो समय वीरगंजको वातावरण हरेक किसिमले चुनौतीपूर्ण थियो । गर्मीयाममा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्थ्यो भने हिउँदमा घना कुहिरोले सडक ढाक्थ्यो, वर्षात्मा बाढीले खेत डुबाउँथ्यो ।
सिर्सिया नदी आसपासका बस्तीहरूमा बाढीको खतरा स्थायी थियो, जुन अहिले हामी पनि भोगिरहेका छौं । तर त्यही माटोले अन्न फलाउँथ्यो, त्यही बाटोले श्रमको मूल्य सिकाउँथ्यो ।
बुबा आज पनि हरेक मौसमसँग जुध्न तयार रहने प्रकृतिको व्यक्ति हुनुहुन्छ ।
एकपटक ठूलो बाढी आएको थियो । त्यो बाढीले घडिअर्वा गाउँ पनि डुबायो । त्यसबेला बुबाले ज्यानको परवाह नगरी छिमेकी वृद्ध दम्पती र पशुहरूलाई सुरक्षित स्थानमा पु¥याउनुभयो ।
परिवार डरले घरभित्र थियो, तर बुबा बाहिर दौडिरहनुभएको थियो । वास्तवमा उहाँले त्यस दिन देखाउनुभयो कि साँचो धर्म भनेको मानवता हो ।
बुबाको जीवन केवल सङ्घर्षको कथा होइन, श्रमको पाठशाला पनि हो । उहाँभित्र सधैं साना कुरामा पनि खुशी मान्ने प्राकृतिक गुण छ — बिहानको घाम, हामी भाइबहिनीहरूको हाँसो वा परिवारसँगको साँझको सामूहिक नाश्ता ।
उहाँ सधैं भन्नुहुन्छ–“सुख त मनमा फल्ने कुरा हो, पैसाले किनेर पाइने होइन ।” त्यस वाक्यमा बुबाको दर्शन लुकेको छ— सादगी, श्रम, र सन्तोष ।
बुबाको दिनचर्या अनुशासनको आदर्श थियो, छ र रहने छ । बिहान सबेरै उठ्ने, गोठमा पशुपालन गर्ने, खेत जाने, अनि बेलुकी घर फर्केर परिवारसँग बसेर हाँस्ने ।
रातको अन्त्यमा प्रार्थना— “भगवान, आज पनि कसैको दुःख नबढोस् ।” त्यही विनम्रता उहाँको महानता हो । समाजमा उहाँ इमानदार र सहयोगी व्यक्तित्वका रूपमा चिनिनुहुन्छ ।
परिवार वा समाजमा कसैलाई समस्या पर्नासाथ उहाँ अग्रसर बन्ने बानी छ । विवाह, संस्कार, रोग या विपत्ति— नन्दुसाह कानू सधैं अग्रपङ्तिमा ।
कसैको घर परिवारमा विवाद भएमा विवाद मिलाउने काममा आज पनि उहाँ अग्रसर रहनुहुन्छ ।
परिवारमा उहाँले सन्तानलाई सिकाउनुभएको शिक्षा हो — “सत्य बोल, परिश्रम गर, मितव्ययी बन र अरूको सम्मान गर ।”
हामीले धेरै शिक्षक देख्यौं, तर साँचो गुरु त हाम्रा बुबा नै हुनुहुन्छ । उहाँको प्रिय भनाइ हो–“परिश्रम नै जीवनको पूजा हो ।” यही वाक्यले हाम्रो जीवनमा आत्मबल र प्रेरणा भरेको छ ।
कहिलेकाहीं जब बुबा सन्तानको प्रगति देख्नुहुन्छ, उहाँको अनुहारमा अनौठो उज्यालो प्रस्फुटित हुन्छ— त्यो गर्वको उज्यालो ।
“मेरो पसिनाले सन्तानको भविष्य उज्यालो बन्यो भने त्यो नै मेरो सबैभन्दा ठूलो पुरस्कार हो”–उहाँ सधैं भन्नुहुन्छ । सन्तानको सफलता उहाँको जीवनको अमूल्य फल हो ।
मलाई आज पनि त्यो दिन सम्झना छ, जब बुबाले भन्नुभएको थियो–“छोरा, मैले त धेरै पढ्न पाइनँ, तिमीहरू कहिल्यै पढ्न नछोड ।’ त्यो वाक्य मेरो जीवनको मोड बन्यो ।”
बुबाको त्यो सन्देशले मेरो जीवनमा शिक्षा र आत्मनिर्भरताप्रति गहिरो विश्वास जगायो । उहाँकै प्रेरणाले मैले उच्च शिक्षा ग्रहण गरें । अनि भाइ र बहिनी शैक्षिक यात्रामा अझै क्रियाशील छन् ।
समयको प्रवाहसँगै वीरगंज बदलिंदै र फैलिंदै गयो— बाटाहरू पक्की भए, बिजुली र इन्टरनेटका तारहरूले गाउँहरू जोडिए, बजारमा आधुनिक पसलहरू खुले ।
तर बुबा भने आज पनि आप्mनै सादगीमा अडिग रहनुहुन्छ । उहाँका लागि प्रगति भनेको नयाँ भवन वा बैंकको मौज्दात होइन, सन्तानको इमानदारी र संस्कारमा निहित छ ।
बुबाको जीवन यात्राले एउटा सन्देश दिन्छ— साँचो सम्पत्ति भनेको परिश्रम हो र साँचो सफलता भनेको सन्तानको असल चरित्र ।
उहाँको कथा केवल परिवारको गौरव मात्र होइन, समाजका सबै श्रमिकहरूको प्रतिनिधि हो ।
जीवनको उत्तरार्धमा पनि बुबा सक्रिय नै हुनुहुन्छ । मेला, धार्मिक कार्यक्रम वा सामाजिक बैठकमा उहाँको उपस्थिति सम्मानका साथ स्वीकार गरिन्छ ।
उहाँको बोलीमा मिठास, हाँसोमा आत्मीयता र व्यवहारमा निष्ठा छ ।
आज बुबा उमेरले साढे पाँच दशक नाघिसक्नुभएको छ, तर उहाँका आँखामा अझै पनि त्यो मेहनती उज्यालो झल्किन्छ ।
उहाँका हातमा अझै माटोको गन्ध बाँकी छ, त्यो गन्ध जसले परिवारको भविष्य बनाएको छ ।
बुबा केवल हाम्रा अभिभावक होइनन्, उहाँ भगवान हुनुहुन्छ । उहाँको पसिनाले बनेको हाम्रो घर र श्रमले उभिएको हाम्रो भविष्य नै हाम्रो गर्व हो ।
बुबाको जीवन कथा स्मरण गर्दा बुझिन्छ— जीवनका सबै कठिनाई, अभाव र पीडाबीच पनि मान्छे आप्mनो कर्म र आस्थाले महान् बन्न सक्छ ।
उहाँको जीवनले देखाएको सत्य यही हो— परिश्रम, धैर्यता र इमानदारीले असम्भव पनि सम्भव बनाउन सक्छ ।
त्यो जीवन हाम्रा लागि दीपक हो— जसले देखाउँछ कि घामजस्तो उज्यालो बन्न माटोजस्तो धैर्य चाहिन्छ ।
बुबाको पसिनाबाट बनेको त्यो उज्यालो आज पनि हाम्रो घरको भित्तामा महसूस गर्न सकिन्छ— मौन, सरल तर आत्मविश्वासले भरिपूर्ण ।
म बुबाआमालाई जीवनपर्यन्त सुख दिन सकूँ, यही चाहना छ। लेखक:- राजेश मिश्र




