नेपाल–भियतनाम आर्थिक सहकार्य विस्तार: राजदूत ओलीद्वारा भियतनामी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान

नेपाल–भियतनाम आर्थिक सहकार्य विस्तार: राजदूत ओलीद्वारा भियतनामी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान

थाइल्यान्ड तथा भियतनामका लागि नेपालको राजदूत धनबहादुर ओलीले भियतनामी लगानीकर्तालाई नेपालमा रहेका उच्च लगानी सम्भावनाबारे जानकारी दिँदै नेपालमा लगानी बढाउन आग्रह गरेका छन्। उनले सोमबार हनोइमा नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच भएको छलफलमा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा आर्थिक सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।

राजदूत ओलीका अनुसार विश्व अर्थतन्त्रका चुनौतीपूर्ण परिस्थितिमा नेपाल–भियतनामले एकअर्कासँग सहकार्य गरेर आर्थिक लाभ लिनुपर्ने आवश्यकता छ। उनले विशेष गरी निर्यातमुखी उद्योग, उत्पादनमूलक क्षेत्र, आइसिटी, औषधि उत्पादन तथा जडीबुटी उद्योगमा लगानीका आकर्षक सम्भावना रहेको बताए। साथै, पर्यटन क्षेत्रमा दुवै देशबीच ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले नेपाल सरकारले विदेशी लगानीकर्तालाई आवश्यक सहजीकरण र सुरक्षा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याए।

छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामी लगानीकर्तालाई नेपालमा थप आर्थिक साझेदारीको अवसर पहिचान गरी लगानी बढाउन आह्वान गरे। उनले हस्तकला, चिया, कफी र जडीबुटी जस्ता नेपाली उत्पादनको भियतनाममा राम्रो बजार भएको तथा दुवै देशका अर्थतन्त्र एकअर्काका पूरक बन्न सक्ने आधार रहेको उल्लेख गरे। नेपालमा प्रत्यक्ष विदेशी लगानीमैत्री वातावरण निर्माण भइरहेको, कानुन सुधार हुँदै गएको तथा भन्सार–कर प्रशासनमा सुधार आएको पनि उनले जानकारी दिए।

ढकालले केबलकार, रिसोर्ट, साहसिक पर्यटन र वेलनेस सेन्टरजस्ता क्षेत्रमा विदेशी लगानी बढिरहेको उल्लेख गर्दै भियतनामी लगानीकर्तालाई नेपाल भ्रमण र आगामी वार्षिक साधारण सभामा सहभागी हुन निम्तो दिए।

भियतनामी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले नेपाल–भियतनामबीच व्यापार तथा लगानीमा पर्याप्त सहकार्य नभए पनि यस क्षेत्र विस्तारका लागि विशाल सम्भावना रहेको बताए। उनले दुई देशबीच आर्थिक साझेदारी अझै मजबुत पार्न इच्छुक रहेको भन्दै आगामी दिनमा सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close