
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १ को क्षेत्रीय कार्य समिति बैठक कार्यवाहक क्षेत्रीय सभापति अनिल सिंहको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले आगामी संघीय निर्वाचनका लागि क्षेत्र नं. १ बाट सर्वसम्मतरूपमा अनिल कुमार रुङ्टाको नाम सिफारिस गर्ने निर्णय गरेको सहभागीहरूले जानकारी दिएका छन्।
बैठकले प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार सिफारिस, सक्रिय सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणलगायत विषयमा विस्तृत रूपले छलफल गरेको थियो।
बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनिल कुमार रुङ्टाले महाधिवेशनलाई संगठनको भविष्य निर्धारण गर्ने महत्वपूर्ण चरणका रूपमा वर्णन गर्दै पार्टीभित्र एकता, पारदर्शिता र मेरिटका आधारमा नेतृत्व चयन गर्नुपर्ने आवश्यकता झनै बढेको बताए। उनका अनुसार, महाधिवेशन नेतृत्व चयन मात्र नभई आगामी चार वर्षका नीति–दिशा र संगठनको मार्गनिर्देशन गर्ने ऐतिहासिक अवसर पनि हो। उनले क्षेत्र नं. १ मा देखिएको सक्रियता र उत्साहले महाधिवेशनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, पर्सा जिल्ला कार्यवाहक सभापति रामनारायण कुर्मीले क्षेत्रीय कार्यकर्ताको एकता, अनुशासन र सक्रियताले पार्टी संगठन अझ सबल बन्दै गएको बताए। उनले महाधिवेशनलाई सुधार, पुनर्संरचना र नेतृत्वको गुणस्तर वृद्धि गर्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै सदस्यता व्यवस्थापनदेखि संरचनागत सुदृढीकरणसम्मका कार्यमा गम्भीरता आवश्यक भएको बताए। कुर्मीका अनुसार, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कृतिलाई संस्थागत गर्न सके कांग्रेस जनताबीच अझ विश्वसनीय विकल्प बन्नेछ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टा, कार्यवाहक जिल्ला सभापति रामनारायण कुर्मी, सचिव इम्तियाज आलम, ने.वि.संघका संस्थापक राजकृष्ण अमात्य, पूर्व जिल्ला उपसभापति राजु गुप्ता, पूर्व नगर सभापति विजय सर्राफ, युवा नेता कन्हैया ठाकुर, रामनिवास यादव, बाबुनन्द पटेल, प्रेस युनियन मधेश प्रदेशका लेखा सदस्य राहुल गुप्ता लगायत क्षेत्र नं. १ का निर्वाचित प्रतिनिधि, नगरपालिका तथा वडा सभापतिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




