
मधेस प्रदेश प्रहरी कार्यालयले सूचना संकलनको नाममा घुमुवा परिचालन गर्दा मधेसका आठ वटै जिल्लाका सीमानाकाबाट तस्करी खुलेआम मौलाएको छ । राज्यको नीति, कानुन र गृहमन्त्रीको निर्देशनलाई ठाडै चुनौती दिँदै प्रहरीकै संरक्षणमा सीमावर्ती क्षेत्र तस्करहरूको स्वर्गमा परिणत भएको आरोप स्थानीयस्तरमै चर्किएको छ ।
मधेस प्रदेशका विभिन्न नाकाबाट मदिरा, स्याउ, गिट्टी, बालुवासहितका सामग्री निर्बाध रूपमा तस्करी भइरहेको छ भने भारतबाट चिनी, दाल, चामल, मोटरपार्ट्सदेखि कस्मेटिक्सलगायत दैनिक उपभोग्य वस्तुहरू भन्सार छलेर नेपाल भित्र्याइँदा वैध व्यापार ध्वस्त बन्दै गएको छ । यसले सीमा बजार मात्र होइन, सदरमुकामका व्यवसाय समेत धराशायी बनाइरहेको छ ।
प्रदेश प्रहरी कार्यालयले आफ्नै मातहतका प्रहरीमाथि अविश्वास गर्दै घुमुवा परिचालन गर्ने र ती घुमुवाले डिआइजीको नाम बेचेर नाका खुलाउन दबाब दिने गरेको आरोप गम्भीर रूपमा उठेको छ । चुनावअघि र त्यसपछिको संक्रमणकालीन अवस्थालाई मौका बनाई घुमुवाहरूले सीमाचौकीमै पुगेर तस्करीका लागि ‘लाइन क्लियर’ गरेको स्रोतहरूको दाबी छ ।
‘डिआइजी गोविन्द थपलियाको नाम लिएर आएपछि हामी बाध्य भयौँ, राति तस्करीका गाडी पास गर्नुपर्यो,’ सीमा क्षेत्रमा कार्यरत एक प्रहरी अधिकृतले खुलासा गरे । उनका अनुसार आठै जिल्लामा डिआइजीको नाममा घुमुवा परिचालन गरिएको छ, जसले तस्करीलाई संस्थागत रूप दिएको छ ।
डिआइजी थपलियाले भने घुमुवा नभई सादा पोसाकका कर्मचारी खटाइएको दाबी गरेका छन् । तर, व्यवहारमा तिनै सादा पोसाकका कर्मचारी तस्करीको मुख्य संयन्त्र बनेको आरोप स्थानीय व्यापारी र सर्वसाधारणको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले तस्करी नियन्त्रण भइरहेको दाबी गरे पनि वास्तविकता त्यसको ठिक उल्टो देखिन्छ । सात लाख रुपैयाँ बराबरको सामान बरामद भएको दाबी गरिएको छ, जुन व्यापक तस्करीको तुलनामा नगण्य मानिन्छ ।
स्थानीय व्यापारीहरू भन्छन् ‘तस्करीका सामान सस्तोमा बजारमा आउँछन्, हामीले भन्सार तिरेर ल्याएको सामान महँगो पर्छ, बिक्री हुनै छाड्यो।’ बारा, पर्सा, रौतहट, जनकपुरदेखि सिरहासम्म यही समस्या साझा बनेको छ ।
सप्तरीको बलान बिहुल गाउँपालिकाको बेल्ही नाकादेखि छिन्नमस्ता, सोभरणपटीसम्म स्याउ र मदिरा तस्करीको मुख्य मार्ग बनेका छन् । सिरहाको माडर, ठाढी, बरियारपट्टी, झाझपट्टी लगायतका नाकाहरू अहिले ‘भूस्वर्ग’ बनेको स्थानीय बताउँछन्—जहाँ नुनदेखि सुनसम्म तस्करी हुने गरेको छ ।
तस्करीका सामान लहान, गोलबजार र मिर्चैयामा भण्डारण गरेर बिल काटी पहाडी जिल्लासम्म पठाइने गरिएको छ । सीमादेखि गोदामसम्म सामान सुरक्षित पुर्याउन घुमुवाको सक्रिय भूमिका रहेको आरोप छ । मोटरसाइकल, टेम्पो, ट्र्याक्टर र मिनी ट्रकहरू यस धन्दाका मुख्य साधन बनेका छन् ।
धनुषाको जटही र औरही नाकामा समेत यही अवस्था छ । केही इमानदार प्रहरी अधिकारीहरूले नाका बन्द गर्न खोज्दा माथिबाट दबाब आएको स्रोतको दाबी छ । कतिपय जिल्लामा त घुमुवाको ‘आतंक’ नै फैलिएको बताइन्छ ।
स्थानीय सर्वसाधारण खुला रूपमा भन्छन् ‘सीमामा तस्करी हुनु अब सामान्य कुरा भइसक्यो । सुरक्षाकर्मीले आँखा चिम्लिएपछि तस्करको राज चल्छ ।’
रोशन कुमार भन्छन्, ‘यो त ओपन सेक्रेट हो सर, लाइन क्लियर भएपछि मात्र सामान आउँछ । प्रहरी नमिलेको भए कसैले हिम्मत गर्ने थिएन ।’
रातको समयमा पारिबाट सामान ल्याएर मोटरसाइकल र साना सवारीमार्फत सहर पठाइन्छ । लाइन क्लियर गर्न तस्कर र प्रहरीका प्रतिनिधि सँगसँगै खटिन्छन् । स्थानीयवासीहरू भन्छन्—‘हामीसँग आँखा, कान र मुख बन्द गरेर बस्नुको विकल्प छैन ।’
सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र सिरहाका दर्जनौँ नाकाहरू अहिले तस्करको नियन्त्रणमा रहेको आरोप छ । मदिरा, चिनियाँ स्याउ, कपडा, मोटरपार्ट्स, गुटखा, पान मसाला, ग्यास सिलिन्डरदेखि हरेक सामान भन्सार छलेर वारपार भइरहेको छ ।
सीमावासी दिलिप झा भन्छन् ‘प्रहरी मिलेपछि जे पनि सम्भव छ ।’
यो अवस्था केवल तस्करीको समस्या मात्र होइन, राज्य संयन्त्रकै विफलता र मिलेमतोको संकेत हो । गृहमन्त्रीको निर्देशन नै बेवास्ता हुने, प्रहरीकै मिलेमतोमा तस्करी चल्ने र वैध व्यवसाय धराशायी हुने अवस्था दीर्घकालीन रूपमा राष्ट्रिय अर्थतन्त्रका लागि घातक बन्दै गएको छ ।



