कोजागरी प्रकाशनीको वार्षिक पत्रिका विमोचन

कोजागरी प्रकाशनीको वार्षिक पत्रिका विमोचन

बेबी चक्रवर्ती

कोलकाताको बोउबजारस्थित लिला रोय सभागारमा कोजागरी प्रकाशनीको आयोजनामा वार्षिक पत्रिकाको विमोचन समारोह सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न पुस्तकहरूको सामूहिक लोकार्पणका साथै विशिष्ट व्यक्तित्वहरूलाई सम्मान पनि प्रदान गरिएको थियो।

साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिबीच सम्पन्न उक्त कार्यक्रममा रवीन्द्रनाथ ठाकुर र काजी नजरुल इस्लामको जन्मजयन्तीको अवसरमा प्रकाशित कृतिहरू सार्वजनिक गरिनुका साथै जाति–धर्मको संकीर्णताभन्दा माथि उठेर मानवतावादी चेतनालाई बलियो बनाउने सन्देश दिइएको थियो।

पत्रिकाका सम्पादक अभिषिक्ता डे र दीपाली मोडक हुन्। नबगोपाल चौधरी अध्यक्ष, अरण्यक बसु प्रमुख सल्लाहकार तथा डा. रमला मुखर्जी, विकास साहु, अदिति सेनगुप्ता, शंख शुभ्र चटर्जी सुनित र सौमेन्द्र मुखर्जी सल्लाहकार मण्डलमा रहेका छन्। मधुमिता मजुमदारलगायतको पनि विशेष सहयोग रहेको बताइएको छ।

सम्पादक दीपाली मोडकले भनिन्, “कोजागरी प्रकाशनीको विशेष साहित्यिक प्रयास निरन्तर जारी छ। यो पुनर्जागरणको सुन्दर प्रस्तुति हो। विभिन्न स्रष्टाहरूका लेखमार्फत प्रेम, सामाजिक चेतना, प्रकृतिको सौन्दर्य तथा बालमनका कल्पनाहरूलाई जीवन्त बनाउने प्रयास गरिएको छ।”

सह–सम्पादक अभिषिक्ता डेले साहित्य मानव चेतना र अनुभूतिको स्थायी ऐना भएको बताउँदै साहित्यिक परम्परालाई जीवित राख्न कोजागरी प्रकाशनी निरन्तर समर्पित रहेको बताइन्। यो प्रकाशनको तेस्रो वर्षको छैटौं संस्करण हो।

कार्यक्रममा करिब १५० कवि तथा साहित्यकारको सहभागिता रहेको थियो। व्यक्तिगत तथा संयुक्त गरी २२ वटा कृतिको विमोचन गरिएको थियो। प्रकाशन संस्थाले यान्त्रिक जीवनशैलीतर्फ उन्मुख समाजमा फेरि पुस्तकप्रतिको आकर्षण जगाउने संकल्प व्यक्त गरेको छ।

आसनसोलबाट सहभागी साहित्यकारहरू रत्ना बनर्जी, मलय राय, रवीन्द्रनाथ नन्दी तथा सान्त्वना घोषलगायतले यसलाई “कवि–साहित्यकारहरूको भव्य मिलन तथा सिर्जनशीलताको आत्मीय सेतु” भनेका थिए।

साहित्यकार दिलीप राय, अरण्यक बसु, गौतम दास, डा. अशोक कुमार साहा, नबगोपाल चौधरी, तपन पाल र प्रदीप मिश्रले साहित्यप्रेमी, कवि, लेखक, कलाकार तथा शुभेच्छुकहरूप्रति शुभकामना व्यक्त गर्दै रचनात्मक यात्राले अझ उज्यालो भविष्य निर्माण गरोस् भन्ने कामना गरेका थिए।

उनीहरूले बंगाली साहित्यको सिर्जनात्मक चेतनाले समाजमा मानवता, एकता र सकारात्मक परिवर्तनको भावना फैलाउन सकोस् भन्ने अपेक्षा पनि व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close