सिरहाको सीमामा ‘सेटिङ अर्थतन्त्र’ ? ४० लाखको मालसहित ट्रक पक्राउपछि सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न

सिरहाको सीमामा ‘सेटिङ अर्थतन्त्र’ ? ४० लाखको मालसहित ट्रक पक्राउपछि सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न

सिरहा । मधेश प्रदेशको सिरहा जिल्लाका सीमावर्ती नाकाहरू पछिल्लो समय संगठित तस्करी सञ्जालका लागि सुरक्षित ट्रान्जिट रुट बन्दै गएको आरोपले गम्भीर रूप लिन थालेको छ। सीमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागको बाक्लो उपस्थिति रहेको क्षेत्रमै करोडौँ मूल्य बराबरका मालवस्तु निर्बाध रूपमा ओसारपसार भइरहनुले सुरक्षा संयन्त्रको प्रभावकारिता, निगरानी प्रणाली तथा जवाफदेहितामाथि नै प्रश्न उठाएको छ।

शनिबार राति नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमावर्ती क्षेत्रबाट भारततर्फ अवैध रूपमा पठाउन लागिएको करिब ४० लाख रुपैयाँ बराबरको मालसहित मिनीट्रक नियन्त्रणमा लिएपछि सिरहामा लामो समयदेखि सञ्चालन हुँदै आएको भनिएको तस्करी सञ्जाल पुनः चर्चाको केन्द्रमा आएको छ।

स १ ख ५३५ नम्बरको मिनीट्रकमा अखरोट, कस्मेटिक्सलगायतका मालवस्तु लोड गरी खेत सम्याएर बनाइएको वैकल्पिक बाटो हुँदै भारततर्फ लैजाँदै गर्दा प्रहरीले दुई जनासहित ट्रक नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा नवराजपुर–५ निवासी राजेशकुमार यादव र आनन्द यादव रहेका छन्। बरामद मालसहित ट्रकलाई थप अनुसन्धानका लागि जिल्ला भन्सार कार्यालय माडर बुझाइएको छ।

तर यो घटनापछि स्थानीय तहमा उठेका प्रश्नहरू सामान्य छैनन्। यति ठूलो परिमाणको मालवस्तु गोदाममा भण्डारण हुने, ट्रकमा लोड हुने र सीमासम्म पुग्ने अवस्थासम्म सुरक्षा निकायलाई कुनै जानकारी नहुनु वा निगरानीमा नपर्नु स्वयंमा गम्भीर विषय भएको स्थानीयको भनाइ छ।

देवनगर–नवराजपुर क्षेत्रलाई संवेदनशील सीमा क्षेत्रका रूपमा लिइन्छ। यहाँ सशस्त्र प्रहरीको स्थायी उपस्थिति, नेपाल प्रहरीको नियमित गस्ती तथा विभिन्न सुरक्षा संयन्त्र सक्रिय रहेको दाबी गरिन्छ। तर त्यही क्षेत्रमा लाखौँ रुपैयाँ मूल्यका मालवस्तु सीमा नजिकसम्म पुग्नुले सुरक्षा व्यवस्थाको प्रभावकारितामाथि नै प्रश्न उठाएको छ।

स्थानीयवासीहरूका अनुसार नियन्त्रणमा परेको ट्रक कुनै आकस्मिक घटना नभई लामो समयदेखि सञ्चालन हुँदै आएको संगठित तस्करी सञ्जालको एउटा सानो कडी मात्र हो। उनीहरू भन्छन्, सीमामा हुने अधिकांश गतिविधि सुरक्षा निकायको जानकारीबिना सम्भव नहुने भएकाले यस प्रकरणलाई केवल ट्रक र चालकसम्म सीमित गरेर हेर्न नहुने अवस्था छ।

नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, “लाइन मिल्यो भने ट्रक मात्र होइन, ठूलो परिमाणका मालसमेत सजिलै पार हुन्छन्। नमिल्नेको माल मात्रै समातिन्छ। सीमामा नियमभन्दा सेटिङ बलियो छ भन्ने जनधारणा बढ्दो छ।”

घटनापछि अर्को महत्वपूर्ण प्रश्न माल लोड गरिएको गोदामसँग सम्बन्धित छ। स्थानीयका अनुसार ट्रकमा बरामद गरिएको माल एकै दिनमा जम्मा गरिएको होइन। लामो समयदेखि भण्डारण गरिएको माल सीमापार पठाउने तयारी भइरहेको थियो। तर ट्रक नियन्त्रणमा लिए पनि उक्त माल कहाँबाट आयो, कुन गोदाममा राखिएको थियो, त्यसको मालिक को हो, आर्थिक लगानीकर्ता र योजनाकार को हुन् भन्ने विषयमा अनुसन्धानको दायरा विस्तार भएको देखिँदैन।

स्थानीयको दाबी छ कि पक्राउ परेका व्यक्तिहरू केवल अग्रपंक्तिका पात्र हुन्। वास्तविक सञ्चालक, लगानीकर्ता तथा तस्करी सञ्जालका मुख्य योजनाकारहरू अझै अनुसन्धानको घेराबाहिर रहेको आशंका व्यापक रूपमा व्यक्त भइरहेको छ।

स्थानीय स्रोतहरूका अनुसार नवराजपुर, भगवानपुर, कुसन्डी, गम्हरिया लगायतका सीमावर्ती नाकाबाट मदिरा, अखरोट, चिनियाँ स्याउ, कस्मेटिक्स तथा तेस्रो मुलुकबाट आयातित विभिन्न मालवस्तुको नियमित तस्करी हुने गरेको छ। विशेषगरी कुसन्डी क्षेत्रमा दिनको समयमा सहरबाट मालसामान ल्याइने र रातिको समयमा भरियामार्फत सीमापार पठाइने क्रम नियमित रहेको दाबी स्थानीयको छ।

त्यसैगरी भारतबाट दैनिक उपभोग्य सामग्री, हार्डवेयरका सामान तथा अन्य वस्तुहरू समेत भन्सार प्रक्रियाबिना नेपाल भित्रिने गरेको आरोपसमेत स्थानीयले लगाएका छन्। यदि यी दाबीहरू सत्य हुन् भने यसबाट राज्यलाई ठूलो परिमाणमा राजस्व क्षति भइरहेको हुन सक्ने देखिन्छ।

सीमावर्ती क्षेत्रका व्यापारी तथा स्थानीय बासिन्दाले तस्करीको जालोमा सुरक्षा निकायका केही व्यक्ति, भन्सार तथा राजस्वसँग सम्बन्धित कर्मचारीसम्मको मिलेमतो हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनीहरूका अनुसार दैनिक लाखौँ रुपैयाँ बराबरको राजस्व चुहावट हुँदा राज्यको ढुकुटीमा प्रत्यक्ष असर परेको छ।

एक व्यापारी भन्छन्, “सीमामा मात्रै होइन, सहरसम्म विभिन्न तहमा लाइन मिलाउनुपर्छ भन्ने चर्चा छ। सबै ठाउँको सेटिङ मिल्यो भने माल सजिलै गन्तव्यमा पुग्छ भन्ने बुझाइ व्यापारी वृत्तमा पनि छ।”

सिरहामा विगतमा पनि पटक–पटक तस्करीका घटनाहरू सार्वजनिक भएका छन्। तर अधिकांश घटनामा चालक, भरिया वा साना कारोबारी मात्र पक्राउ पर्ने गरेका छन्। तस्करी सञ्चालन गर्ने मुख्य योजनाकार, आर्थिक लगानीकर्ता तथा सञ्जालका प्रभावशाली व्यक्तिहरू सार्वजनिक नहुने र कानुनी दायरामा नआउने गरेको आरोप निरन्तर दोहोरिँदै आएको छ।

यसले अनुसन्धान प्रक्रियाको निष्पक्षता, प्रभावकारिता र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ। स्थानीय सरोकारवालाहरूले पक्राउ परेका व्यक्ति र बरामद मालवस्तुमै अनुसन्धान सीमित नगरी सम्पूर्ण सञ्जालमाथि उच्चस्तरीय र निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनीहरूको भनाइमा माल भण्डारण गरिएका गोदाम, आर्थिक लगानीकर्ता, सीमापार सक्रिय गिरोह, सुरक्षा निकायसँगको सम्भावित सम्बन्ध तथा राजस्व चुहावटको सम्पूर्ण शृङ्खलामाथि अनुसन्धान हुन सके मात्रै वास्तविक तथ्य बाहिर आउन सक्छ।

सीमामा तस्करी नियन्त्रणका सरकारी दाबी भइरहेका बेला सिरहाका विभिन्न नाकाबाट ठूलो परिमाणमा मालवस्तु ओसारपसार भइरहनुले एउटा गम्भीर प्रश्न जन्माएको छ। सीमामा वास्तवमै सुरक्षा बलियो छ, कि तस्करीको ‘सेटिङ अर्थतन्त्र’ अझै शक्तिशाली छ ?

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close