
वीरगञ्ज । मधेश प्रदेशमा उद्योग प्रशासनसम्बन्धी सेवा थप प्रभावकारी र सहज बनाउने उद्देश्यका साथ उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले उद्योग विभाग, त्रिपुरेश्वरबाट हस्तान्तरण भई आएका २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगका फाइलहरू उद्योग विभाग, वीरगञ्जलाई हस्तान्तरण गरेको छ।
मन्त्रालयले उद्योग विभाग, वीरगञ्जकी निमित्त महानिर्देशक रिमा साहलाई एकमुष्ट १८८ वटा उद्योगका प्रशासनिक फाइल हस्तान्तरण गरेको हो। यससँगै अब २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगहरूको दर्ता, नवीकरण, संशोधन, नामसारी, स्वीकृतिलगायत सम्पूर्ण प्रशासनिक सेवा वीरगञ्जबाटै उपलब्ध हुने भएको छ।
मन्त्रालयमा आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले निमित्त महानिर्देशक साहलाई ती फाइलहरू औपचारिक रूपमा हस्तान्तरण गरेका थिए। कार्यक्रममा मन्त्रालयका प्रदेश सचिव जयकुमार घिमिरे, मन्त्रालयका कर्मचारी नविन सिंहलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
निमित्त महानिर्देशक रिमा साहका अनुसार उद्योग विभाग, वीरगञ्जमा फाइल हस्तान्तरण भएसँगै २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगहरूको प्रशासनिक काम अब प्रदेशस्तरबाटै प्रभावकारी रूपमा सञ्चालन हुनेछ। यसले उद्योगी–व्यवसायीले सामान्य प्रशासनिक कार्यका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुनुका साथै सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ।
प्रदेश सरकारले उद्योग प्रशासनलाई विकेन्द्रीकरण गर्दै सेवाग्राहीमैत्री व्यवस्था लागू गर्ने दिशामा यो कदम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।



