४४औँ बीपी स्मृति दिवसको अवसरमा पटेर्वा सुगौली गाउँपालिकामा वृक्षारोपण तथा ‘जरा अभियान’ सम्पन्न

४४औँ बीपी स्मृति दिवसको अवसरमा पटेर्वा सुगौली गाउँपालिकामा वृक्षारोपण तथा ‘जरा अभियान’ सम्पन्न

पर्सा । ४४औँ बीपी स्मृति दिवसको अवसरमा पर्साको पटेर्वा सुगौली गाउँपालिकामा वृक्षारोपण तथा ‘जरा अभियान’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। नेपाली कांग्रेसको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका विभिन्न स्थानमा फलफूल तथा अन्य विभिन्न प्रजातिका बिरुवाहरू रोपेर वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा बीपी कोइरालाले अघि सारेको सामाजिक उत्तरदायित्वको सन्देशलाई व्यवहारमा उतार्ने प्रयास गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उज्ज्वल बरालले बीपी कोइरालाले परिकल्पना गरेको लोकतन्त्र, सामाजिक न्याय र विकासको मार्गलाई व्यवहारमा उतार्न युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्। उनले वृक्षारोपण केवल एक दिनको औपचारिक कार्यक्रम नभई भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्ने दीर्घकालीन अभियान भएकाले सबैले रोपिएका बिरुवाको संरक्षणमा समेत ध्यान दिनुपर्ने धारणा व्यक्त गरिन्। उनले बीपीको स्मृतिलाई सम्मान गर्ने सबैभन्दा प्रभावकारी माध्यम समाज र वातावरणप्रति जिम्मेवार बन्नु रहेको उल्लेख गरिन्।

त्यसैगरी नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले बीपी स्मृति दिवसलाई केवल सम्झनाको दिनका रूपमा सीमित नराखी समाजलाई सकारात्मक सन्देश दिने कार्यसँग जोड्नुपर्ने बताए। वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्नुका साथै भावी पुस्तालाई स्वच्छ र हरियाली वातावरण हस्तान्तरण गर्ने महत्वपूर्ण आधार तयार गर्ने उल्लेख गर्दै उनले यस्ता अभियानलाई निरन्तरता दिन सबैको सहकार्य आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, सचिव दिनेश चौधरी, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, क्षेत्र नं. २ का क्षेत्रीय सभापति मो. साबुदिन लगायत नेपाली कांग्रेसका नेता–कार्यकर्ता, जनप्रतिनिधि, स्थानीयवासी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close