
वीरगञ्ज । पर्साको सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि खटिनुपर्ने नेपाल प्रहरीकै एक जवानमाथि तस्करी संरक्षण, गैरकानुनी रकम असुली तथा अस्वाभाविक सम्पत्ति आर्जन गरेको आरोप लागेको छ।
इलाका प्रहरी कार्यालय श्रीपुरमा लामो समयदेखि ‘घुमुवा’का रूपमा कार्यरत प्रहरी जवान सुरज दासले आफ्नो पद र जिम्मेवारीको दुरुपयोग गर्दै सीमावर्ती क्षेत्रमा सक्रिय तस्करहरूसँग साँठगाँठ गरी आर्थिक लाभ लिइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्।
स्रोतका अनुसार दासको दरबन्दी प्रहरी चौकी जगरनाथपुर (जन्किटोला) मा रहे पनि उनी विगत लामो समयदेखि इलाका प्रहरी कार्यालय श्रीपुरमै घुमुवा प्रहरीका रूपमा कार्यरत छन्। उनी हालका प्रहरी निरीक्षक नवीन थापामगरको कार्यकालमा मात्र नभई यसअघि इलाका प्रहरी कार्यालय श्रीपुरको नेतृत्व सम्हालेका प्रहरी निरीक्षक श्यामकुमार बस्नेतको पालादेखि नै सोही जिम्मेवारीमा कार्यरत रहेको बताइएको छ।
स्थानीय स्रोतहरूको दाबीअनुसार सीमावर्ती क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण गर्नुको सट्टा दासले तस्करहरूबाट नियमित रूपमा रकम असुली गर्ने तथा उनीहरूको गतिविधिलाई संरक्षण प्रदान गर्ने काम गर्दै आएका छन्। यस विषयमा इलाका प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक नवीन थापामगरको समेत संरक्षण रहेको आरोप लगाइएको छ।
प्रहरी संगठनभित्रै हुने भनिएको यस्तो गतिविधिले प्रहरी प्रशासनको विश्वसनीयता र छविमाथि गम्भीर प्रश्न उठाएको स्थानीयको भनाइ छ। कानुन कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेका सुरक्षाकर्मीमाथि नै गैरकानुनी आर्थिक गतिविधिमा संलग्न रहेको आरोप लाग्नु चिन्ताजनक विषय भएको उनीहरू बताउँछन्।
रौतहट स्थायी घर भएका प्रहरी जवान दासले छोटो अवधिमै कलैया उपमहानगरपालिका–४ मा नयाँ घर खरिद गरेको विषयले पनि उनको आम्दानी र सम्पत्तिको स्रोतबारे प्रश्न उठाएको छ। सीमित सरकारी तलबमा कार्यरत एक प्रहरी जवानले आर्जन गरेको भनिएको सम्पत्तिको स्रोतबारे निष्पक्ष छानबिन हुनुपर्ने माग स्थानीयवासीले गरेका छन्।
यस प्रकरणमा प्रहरी जवान सुरज दास, उनीसँग सम्बन्धित अधिकारीहरू तथा उनीहरूको बैंकिङ कारोबार, सम्पत्तिको स्रोत र तस्करहरूसँगको सम्भावित सम्बन्धबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा प्रहरी प्रधान कार्यालयले निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठेको छ।
यस विषयमा इलाका प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक नवीन थापामगरसँग प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल नम्बरमा सम्पर्क गरिएको थियो। फोन वरिष्ठ प्रहरी नायब निरीक्षकले उठाउँदै आफू नयाँ आएको र उक्त विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए।
सभार:- ज्योति दैनिक



