आफूले कुनै बढी शुल्क नलिएको घण्टाघर सब रेमिटको दाबी

आफूले कुनै बढी शुल्क नलिएको घण्टाघर सब रेमिटको दाबी

वीरगञ्ज, २० कात्तिक। वीरगञ्जको घण्टाघरमा रहेको घण्टाघर सब रेमिट प्रालिका सञ्चालक सत्येन्द्र गुप्ताले आफूले सेवाग्राहीबाट कुनै पनि प्रकारको बढी शुल्क नलिएको दाबी गरेका छन्।

गुप्ताले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिको नियोजित गतिविधिका कारण आफूलाई विवादमा तानिएको बताएका हुन्। केही दिनअघि वीरगञ्जका सञ्चारकर्मीहरूले आफ्नो विरुद्ध अनर्गल प्रचार गरी व्यवसायको प्रतिष्ठामा आँच पुर्‍याउने काम गरेको आरोप लगाउँदै उनले यस विषयमा चाँडै प्रहरीमा उजुरी दिने बताएका छन्।

चाडपर्व चलिरहेका कारण आफू हालसम्म मौन बसेको उल्लेख गर्दै गुप्ताले बिदा सकिएलगत्तै प्रहरी कार्यालय पुगेर दोषीमाथि कारबाहीको माग गर्ने बताए।

घटनाबारे आफ्नो धारणा राख्दै गुप्ताले करिब एक साताअघि केही व्यक्तिहरू आफूले सञ्चालन गर्दै आएको आईएमईमा आएर खुद्रा रकम लिएर बाहिर पठाउन खोजेको बताए। त्यस क्रममा राष्ट्र बैंकले तोकेको शुल्क माग गर्दा ती व्यक्तिहरूले आफूहरूको भाइ पत्रकार रहेको भन्दै धाकधम्की दिएको उनको दाबी छ।

उनका अनुसार ती व्यक्तिहरूले नै केही सञ्चारकर्मीलाई बोलाएर आफ्नो विरुद्ध प्रचारप्रसार गर्न लगाएका थिए। सोही क्रममा सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै आफूले लाग्ने शुल्कबारे स्पष्ट पारेको भए पनि आफ्नो भनाइ समेटिएको भिडियोको अंश हटाएर आफूअनुकूल सामग्री प्रसारण गरिएको गुप्ताको आरोप छ।

यसरी एकपक्षीय रूपमा भिडियो सार्वजनिक गरी आफ्नो व्यवसायको छविमा नकारात्मक असर पुर्‍याइएको भन्दै उनले दुःख व्यक्त गरेका छन्।

विगत तीन वर्षदेखि सोही स्थानमा रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको उल्लेख गर्दै गुप्ताले अहिलेसम्म कुनै पनि सेवाग्राहीबाट नियमविपरीत शुल्क नलिएको दाबी गरे। आफूले सक्दो जनताको सेवा गर्दै आएको उनको भनाइ छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close