
रंगप्रसाद तिमिल्सैना
लम्की/ पौष ११
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिमा एक हप्ते सिकर्मी तथा डकर्मी तालिम शुरु भएको छ ।
युएसएआडीकाे आर्थिक सहयाेगमा तयार नेपाल परियोजनाको आर्थिक पुनर्लाभ कार्यक्रम मार्फत ट्रेस प्रालि धनगढीकाे आयोजना तथा लम्कीचुहा नगरपालिका कार्यालयकाे सहकार्यमा उक्त तालिम शुरु भएको हो ।
तालिममा कोभिडका कारणले रोजगारी गुमाएर भारत लगायत तेस्रो मुलुकबाट लकडाउनको समयमा नेपाल फर्किएकाहरु सहभागी छन ।
लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापाले आज लम्कीमा सिकर्मी तालिमको उद्घाटन गर्नुभएको हो । त्यसैगरी डकर्मी तालिम लम्कीचुहा नगरपालिका वडा नम्बर ४ गिधिनियामा हिजोदेखी शुरु भएको हो ।
तालिम उदघाटन कार्यक्रममा लम्कीचुहा नगरपालिकाका नगर उपप्रमुख टीका थापा, तयार नेपाल आर्थिक पुनर्लाभ कार्यक्रमका प्रबन्धक अनिल न्यौपाने, ट्रेस प्रालिका प्रबन्ध निर्देशक छत्र बम, तयार नेपालका प्रेमलाल कुश्मी, धर्मप्रसाद बजगाई , ट्रेस प्रालिका परियोजना प्रबन्धक चक्र बम लगायतकाको उपस्थिति रहेको थियो ।
एकहप्ता सम्म संचालन हुने सिकर्मी तालिममा दस जना तथा डकर्मी तालिममा दस गरि बिसजनाको सहभागिता रहेको छ ।




