युवा नेता धिरज गुप्ताद्वारा रक्षा बंधन तथा जनैपूणिमाको शुभकामना

जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिन

हरेक वर्षझैँ यो वर्ष पनि नेपालीको विशेष चाड जनैपूर्णिमा भोली ०६ गते परेको छ । यो दिन विभिन्न रङहरुले भरिएका राखी दाजुभाइ तथा दिदीबहिनीको रक्षाका निम्ति नडीमा बाँधिदिने चलन छ । यो दिन ब्राह्मणहरुले पनि आफ्ना जजमानकहाँ गएर रक्षा बन्धन बाँधिदिने चलन पनि छ । खासगरी व्रतबन्ध गरेका ब्राह्मण तथा क्षत्रियहरूले जनै फेर्ने दिन पनि यही हो । जनै फेर्ने दिन भएर नै यस पर्वलाई जनैपूर्णिमा भनिएको हो । यो दिन विशेषगरी नेवार जातिमा क्वाँटी खाने प्रचलन प्रसिद्ध छ ।

अर्कोतर्फ परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । ‘क्वाँटी’ नेपालभाषाको ‘क्वाति’ शब्दबाट व्युत्पत्ति भएको र ‘क्वा’को अर्थ तातो र ‘ति’को अर्थ झोल वा सुप हो । क्वाँटी बनाउँदा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ नौ प्रकारका गेडागुडी टुसा उम्रेने गरी पानीमा चार दिनसम्म भिजाइन्छ । टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यो दिन विशेषको महत्त्वपूर्ण स्वाद पनि हो । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासँग सम्बन्धित विभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समुदायले खाने विशेष प्रकारको क्वाँटीलाई न्वाँगी पनि भनिन्छ ।

हरेक चाडवाडको आआफ्नै महत्त्व हुन्छ । आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

साथै यज्ञोपवित धारण गरेपछि समस्त सनातन कर्महरुको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहरिँदै आएको पाइन्छ । आजभोलि वैदिक सनातन धर्मलाई केवल जातीय आधार र छुवाछूतका रूपमा लिइने चलन छ, जुन अत्यन्त सङ्कुचित कुण्ठा मात्र हो ।

यज्ञोपवितले ब्राह्मणपथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्यनशीलताको पथ नै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रूपमा मात्र हेर्न हुँदैन । जुनसुकै धर्म या जातीय पृष्ठभूमिको भए पनि अध्यनशीलता र आत्मिक शुद्धताको ब्राह्मणपथमा आलीन हुन सक्छन् ।

यो सांस्कारिक काँचो धागो वा दाजुभाइ, दिदीबहिनीबीचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालीन परम्पराको निरन्तरतालाई युगौँयुगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस् ।

नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ताले प्रहार डेलीको माध्यमबाट देश विदेशमा रहेका सम्पूर्ण सनातनी दाजु भाइ दिदी बहिनीहरुमा रक्षा बन्धन एवं जनै पूर्णिमाको शुभकामना दिनुहुँदै उहाँहरुको आरोग्यता, सुयश, एवं दीर्घायु तथा उतरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close