पूर्वमन्त्री प्रभु साहले क्यानडा पठाइदिन्छु भनी लिएको २० लाख रुपैयाँ फिर्ता नगरेको भन्दै प्रहरीमा निवेदन

केही समयअघि एमाले प्रवेश गरेका पूर्वमन्त्री प्रभु साहले विदेश पठाइदिने भन्दै लिएको पैसा नतिरेको भन्दै एक महिला प्रहरी कार्यालय पुगेकी छिन्।

काठमाडौं बाँसबारीकी दीपा कुँवर महानगरीय प्रहरी वृत्त बानेश्वरमा निवेदन लिएर पुगेकी हुन्।

उनले नेता साहले २० लाख रुपैयाँ तिर्न बाँकी रहेको उल्लेख गरेकी छिन्। ३० लाख रुपैयाँ लिएकोमा १० लाख फिर्ता लिएको तर अरू पैसा नतिरेपछि कुँवर साहको बानेश्वरस्थित घर नै पुगेकी थिइन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालका अनुसार साहको घरमा आइतबार बिहान कुँवर केही महिला अधिकारकर्मीहरू लिएरै पुगेकी थिइन्।

घरमा घेरा हालेपछि प्रहरीले घटना के हो अनुसन्धान थालेको छ,’ पालले भने।

प्रहरीकहाँ ती महिलाले अहिले ठाडो निवेदन दिएकी छिन्। निवेदन अनुसन्धानकै क्रममा रहेकाले यसलाई दर्ता भने प्रहरीले गरिनसकेको वृत्त स्रोतले बतायो।

‘निवेदनको सत्यता के-कति हो, आउनेबित्तिकै हामी दर्ता गर्दैछौं, निवेदनमा उल्लेख भएका केही कुरा पुष्टि गर्न बाँकी छ,’ वृत्त स्रोतले भन्यो।

कुँवरले क्यानडा पठाइदिने भनेर साहले आफूसँग पैसा लिएको आरोप लगाएकी छिन्।

चेक बाउन्सबाहेक लेनदेन मुद्दा प्रहरीले हेर्दैन। तर, ठगी आकर्षित हुने परिस्थितिमा भने प्रहरीले उजुरी अनुसन्धान गर्छ।

नेता साहले भने ती महिलालाई आफूले नचिनेको बताए। आफूलाई फसाउन योजनावद्ध ढंगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो योजना बनाएको साहले दाबी गरे।

‘उहाँ मेरोविरूद्धमा लाग्नुभएको छ, मैले चिन्दै नचिनेको मान्छेलाई उभ्याएर मलाई ह्यारेसमेन्ट गर्ने प्रचण्डजीको गुरूयोजनाअन्तर्गत यो भएको हो,’ साहले सेतोपाटीसँग भने।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close