
भूमिसुधार तथा मालपोत कार्यालयले संरक्षण गर्न नसक्दा पर्साको १४ वटा पालिकाको विभिन्न वडामा दर्ता रहेको जग्गाको श्रेस्ता च्यातिनुका साथै कुनै कुनै वडाको मोठ अर्थात ठेली नै गायब भएको छ। वीरगंज महानगरको नगवा, भवानीपुर, लालपर्सालगायत विभिन्न वडाको ठेली र श्रेस्ता नरहेको मालपोत स्रोतले जनाएको छ।
श्रेस्ताको फोटो खिचेर अनलाइनमा अपडेट गर्न आएको प्राविधिक टोलीले समेत थुप्रै श्रेस्ता र केही वडाको ५० पन्ने ठेलीहरु समेत नभेटिएको बताएको छ। पिज जिओकम-सिड जेभीका प्राविधिक अमरनाथ राउतका अनुसार धेरै पहिलेदेखि मालपोत पर्सामा ठेली गायब गर्ने, स्रेस्ता च्यातिने कारण थुप्रै स्रेस्ताको पन्ना आफूहरुले नभेटेको बताए।
‘कुनै कुनै वडाको पुरै पन्ना भएको मिसिल अर्थात ठेली नै गायब छ, कसरी फोटो खिचेर हाल्ने? एउटा ठेलीमा आधा दर्जनभन्दा बढी श्रेस्ताको पन्ना च्यातिएको पनि भेटेको छौं। हामीले हाकिम साबलाई जानकारी गराएका छौं, श्रेस्ता जुन अवस्थामा छ, त्यतिकै पन्नाको फोटो खिचेर हालेका छौं,’ उनले भने।
पर्सामा १४ वटा पालिकामा गरी करिब ९६ वटा ठेली रहेकोमा कुल करिब ६ हजार श्रेस्ताको पन्नाको फोटो खिचेर अपडेट गर्ने क्रममा यस्तो कमजोरी भेटिएको प्राविधिकहरुले बताएका छन्।
कर्मचारीहरुले जथाभावी जग्गाको श्रेस्ताको ठेली कार्यालयमा पसेर मोठ भिडाउने गर्दा पन्ना च्यातिने गरेको बताउँछन्।
कर्मचारीहरु लेखनदासको बदमासीले श्रेस्ता च्यातिने आरोप लगाउँछन् भने लेखापढी व्यवसायीहरु कर्मचारीले आफ्नो मान्छेको आर्थिक प्रभावमा परेर स्वयमले श्रेस्ता च्यातेर जग्गाको स्वामित्व बारे अन्योल खडा गर्ने गरेको तर्क गर्छन्।
तर यस विषयमा भूमिसुधार तथा मालपोत विभागले छानबिन गरी सम्पूर्ण श्रेस्तालाई सुरक्षित र संरक्षण गरी सिस्टममा बसेर काम गर्ने नियम ल्याउनु पर्ने सुझाव सेवाग्राहीको छ। bizmandu




