
काठमाडौं । थरूहट थारुवान राष्ट्रिय मोर्चाले भदौ १ गतेदेखि सशक्त आन्दोलनमा जाने घोषणा गरेको छ। मोर्चाले भदौ १ गतेदेखि माइतीघरमा प्रदर्शन गर्ने र भदौ ६–७ गते विद्रोह दिवस मनाउने घोषणा गरेको हाे ।
जेलमा रहेका रेशम चौधरीलाई जनता समाजवादी पार्टी नेपालले राजनीतिक रुपमा प्रयोग गरिरहेको आरोप थारु अगुवाहरुले लगाएका छन्।
मंगलबार थरूहट थारुवान राष्ट्रिय मोर्चाले ‘टीकापुर थरूहट थारुवान विद्रोहको ६ वर्ष’ विषयमा आयोजना गरेको वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै सुरेन्द्र चौधरीले भने, ‘टीकापुर घटनाले गर्दा रेशम चौधरी जेलमा हुनुहुन्छ तर बाहिर उहाँको नाममा राजनीतिक भइरहेको छ।’
थारुहरुले शान्तिपूर्ण तरिकाले आफ्नो अधिकार लिन चाहेको भन्दै उनले चौधरीलाई नछाडिए थारु युवाहरु भूमिगत आन्दोलन गर्न तयार रहेको उनले चेतावनी समेत दिए। यसैगरी पूर्व राजदूत विजयकान्त कर्णले टीकापुर घटनामा दोषी देखाइ थुनामा राखेकाहरूलाई रिहा गराउनका लागि आन्दोलनबाहेक अरु केही उपाय नरहेको धारणा राखे ।




