बकैयाका वडाध्यक्ष भन्छन्- गाई मरेर दुर्गन्ध फैलनुभन्दा काटेर मासु खाँदा ठीक भन्ने ठानेछन्

बकैया–११ मा पसल चलाउने डम्बर न्यासुर असोज ३ गते राति पसल बन्द गरेर वडा नम्बर ४ स्थित घरतर्फ फर्कँदै थिए। बाटोमा प्रहरीको फन्दामा परे।

दर्जनौंको संख्यामा रहेका प्रहरी स्थानीयलाई केरकार गर्दै थिए। सडकमा रहेका उनी पनि केरकारमा परे। विषय थियो गाउँमा गाई काटिएको। बकैया-११ को कालीदमारमा गाई काटिएको सूचनाको आधारमा जिल्ला र इलाका प्रहरी कार्यालयबाट २ गाडी प्रहरी त्यहाँ पुगेका थिए। अकस्मात ठूलो संख्यामा प्रहरी पुगेपछि गाउँमा हलचल मच्चिएको थियो।

करिब आधा घण्टापछि डम्बर त त्यहाँबाट छुटे गाउँका १० जनालाई भने प्रहरीले पक्राउ गर्‍यो। प्रहरीले राष्ट्रिय जनावर गाई काटिएको सूचनाको आधारमा उक्त गाउँ पुग्दा काटेर भाग लगाउँदै गरेका १० जनालाई पक्राउ गरिएको जनाएको छ।

उक्त वडाका वडाध्यक्ष गोपाल न्यासुरले ठूलो संख्यामा प्रहरीहरु गाउँ आएर गाई काटेको भन्दै स्थानीयलाई पक्राउ गरेको जानकारी पाएको बताए। ‘जिल्ला प्रशासन कार्यालयबाट पनि स्थानीय समातिएको विषयमा खबर आएको थियो तर म पुग्न पाएको छैन,’ वडाध्यक्ष न्यासुरले सेतोपाटीसँग भने, ‘घटना के हो भन्ने विषयमा प्रत्यक्षदर्शीबाट जानकारी लिइरहेको छु।’

वडाध्यक्ष न्यासुरले खसी, बोका, राँगाको मासु महँगो हुने भएका कारण स्थानीयले अशिक्षाका कारण मासुका लागि गाई काटेको हुनसक्ने बताए।

‘हाम्रो वडामा करिब ९० प्रतिशत तामाङ समुदायको बसोबास रहेको छ। उनीहरु मध्ये पनि अधिकांश विपन्न र अशिक्षित छन्,’ उनले भने, ‘राष्ट्रिय जनावर मार्न पाइँदैन भन्ने ज्ञान नभएर वा गरिबीका कारण मासुका लागि महँगो रकम खर्च गर्न नसकेर गाई काटेको हुनसक्छ।’

उनले छोडुवा पशु मरेर दुर्गन्ध फैलन दिनभन्दा काटेर मासु खाँदा ठीक हुन्छ भन्ने स्थानीयले ठानेको पाएको बताए।

न्यासुरले तामाङ जाति भित्रका पनि केहीको कूल पूजामा गाईको मासु अनिवार्य हुने गरेको भएपनि आफ्नो गाउँमा यसरी गाई काटेर मासु भाग लगाएको यसअघि थाहा नपाएको दाबी गरे।

उक्त वडामा ४०६ घरधुरी रहेकोमा ९० प्रतिशत भन्दा बढी तामाङ समुदाय रहेको वडाध्यक्ष न्यासुरले बताए।

स्थानीय डम्बर न्यासुरकाअनुसार काठमाडौंका व्यापारीहरुले उक्त गाउँ हुँदै पशु चौपाय ओसार्ने गर्छन्।

‘यही गाउँको बाटो भएर गाई लैजाने क्रममा एउटा कमजोर गाई हिँड्न नसक्ने भएपछि बाटैमा छाडेछन्,’ उनले भने, ‘स्थानीयले त्यो गाई मर्‍यो भने गाउँमा दुर्गन्ध फैलने भन्दै मासुको रूपमा उपयोग गरेको कुरा सुनेको छु।’

उनले मरेर दुर्गन्ध फैलनुभन्दा मासुको रूपमा प्रयोग गर्दा उचित हुने ठानेर गाउँमा गाई काट्ने गरिएको हुनसक्ने बताए।

‘सोझा गाउँलेहरूलाई राष्ट्रिय जनावर काट्न पाइँदैन भन्ने जानकारी पनि छैन,’ उनले भने, ‘जे काटे पनि मासु नै हो भन्ने बुझाइ पनि छ। यसरी गाउँमा प्रहरी आएर मान्छे पक्राउ गरेर लगेको पहिलो घटना हो, यसअघि कहिल्यै थाहा पाएका थिएनौं।’

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले गाई काटेर मासु बाँड्दै गरेको अवस्थामा पक्राउ परेकाहरूलाई अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको बताए। उनले गौ बधसम्बन्धी कसुरमा कारबाही गर्न अनुसन्धान चलाइरहेको बताए।

‘तामाङ समुदायको बाहुल्यता रहेको बस्ती हो त्यो, गाई काटिएको जानकारी पाएपछि प्रहरी टोली पुगेर संलग्नलाई समातेको हो,’ उनले भने।

प्रहरीले आइतबार राति कालीदमारबाट बकैया–९ का ५० वर्षीया सन्चमाया ब्लोन, ४२ वर्षीया फूलमाया,१ ८ वर्षीय सन्देश बिक, ४० वर्षीय सोमबहादुर तमाङ, १९ वर्षीय सोमार ब्लोन, वडा नम्बर ११ का ३९ वर्षीय जनकबहादुर लो, ४३ वर्षीय राजकुमार घलान, ४० वर्षीय रवीन्द्र लो, ३३ वर्षीय पम्पराज लो र वडा नम्बर ४ का ४८ वर्षीय प्रल्हादभक्त न्यासुरलाई पक्राउ गरेको थियो।

कसुर प्रमाणित भए तीन वर्ष कैद र तीस हजार जरिबानासम्मको सजाय हुन्छ।

प्रहरी निरीक्षक दासकाअनुसार गाई काटेको कसुरमा पक्राउ गरिएको घटना यो वर्षको पहिलो हो। गत वर्ष मकवानपुरमा गौ बधका दुईवटा घटना भएका थिए। setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close