
वीरगन्जमा साहिब दरबारले आयोजना गरेकाे रक्तदान कार्यक्रममा १ सय ५५ जनाले रक्तदान गरेका छन् ।
जैन धर्मशालामा शनिबार आयाेजित रक्तदान कार्यक्रममा ८ जना महिलासहित १ सय ५५ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले शरिरको रगत तीन तीन महिनामा त्यत्तिकै खेर जाने भएकोले रक्तदान गरि पुण्य कमाउन आग्रह गरे ।
रक्तदान गर्ने रक्तदाताहरुलाई सिंहले प्रमाणपत्र हस्तान्तरणसमेत गरेका थिए ।
अत्याधिक गर्मीका कारण रक्तदान कार्यक्रममा कमी आउँदा केही समय यता वीरगन्जमा रगतको अभाव सृजना भएको रक्तसञ्चार केन्द्र वीरगन्जले जनाएको छ । रगत अभावमा यहाँका डेढ दर्जन अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारमा समस्या आउन थालेपछि साहिब दरबारले रगतको अभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष उमेशलाल सहनीले बताए ।
रक्तदान कार्यक्रममा साहिब दरबारका सस्थापक सदस्य एवं समाजसेवी अन्नपूर्ण मानन्धर, वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, संस्थाकी कोषाध्यक्ष प्रेरणा श्रेष्ठ, सदस्य विष्णु पटेल, प्रति मा सिंह लगायतको पनि उपस्थिति रहेको थियो।




