
वीरगञ्ज, पर्सा — प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, वीरगञ्जले स्वास्थ्य निर्देशनालय तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको संयुक्त पहलमा सम्पन्न भएको सेवा मापदण्ड (Minimum Service Standards – MSS) सम्बन्धी मूल्यांकनमा ८३.५७ प्रतिशत अंक प्राप्त गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ।
वीरगञ्ज महानगरपालिका–१० स्थित टाउनहलमा सम्पन्न सो मूल्यांकन कार्यक्रममा संस्थाले सेवा प्रवाह, सरसफाइ, व्यवस्थापन, चिकित्सकीय तयारी, तथा सेवा पहुँचलगायत विभिन्न सूचकहरूमा उत्कृष्ट प्रदर्शन गर्दै यो उपलब्धि हात पारेको हो। मूल्यांकनको क्रममा अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी, व्यवस्थापन टोली तथा प्राविधिक कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
अस्पतालले प्राप्त गरेको स्कोर अन्य धेरै जिल्लाका आयुर्वेद अस्पतालहरूको तुलनामा उच्च रहेको जनाइएको छ। मूल्यांकन अवधिमा MSS कार्यशाला तथा क्लिनिकल मूल्यांकन पनि सम्पन्न गरिएको थियो, जसमा स्वास्थ्य निर्देशनालय तथा विभागका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
संस्थाका प्रमुखहरूका अनुसार प्राप्त सफलता अस्पतालप्रति जनविश्वास बढाउने मात्र नभई भविष्यमा अझ गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा पनि मार्गदर्शन बन्ने अपेक्षा गरिएको छ। यो उपलब्धिले आयुर्वेदिक सेवा क्षेत्रमा वीरगञ्जलाई एक नमुना केन्द्रका रूपमा स्थापित गर्न थप टेवा पुर्याउने विश्वास लिइएको छ।