
बारा जिल्लाको प्रसौनी–३ स्थित नेशनल वाटर कम्पनीले उत्पादन गरेको मिनरल वाटरमा फोहर भेटिएको छ। वीरगञ्ज महानगरपालिका–१३ राधेमाईको एक किराना पसलबाट बिक्री भइरहेको बोतलमा खरपात र अन्य फोहरजन्य वस्तु देखिएपछि उपभोक्ता र बजारमा ठूलो तरंग आएको हो।
स्वास्थ्य विज्ञका अनुसार यस्ता दूषित पानीको सेवनले आन्द्रा सङ्क्रमण, झाडापखाला, टाइफाइड र हैजा जस्ता रोग फैलन सक्छन्। बालबालिका, वृद्ध तथा कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूका लागि यो पानी घातक हुन सक्ने चेतावनी दिइएको छ।
स्थानीय व्यापारी रामेश्वर साहले भने, “यो घटनापछि ग्राहकहरूमा अविश्वास बढेको छ। व्यापारमा पनि यसको असर पर्छ भन्ने देखिन्छ।”
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, स्वास्थ्य कार्यालय र उपभोक्ता संरक्षण शाखा जस्ता सम्बन्धित निकाय भने मौन छन्। नियमित बजार अनुगमन र नमुना परीक्षण गर्नुपर्ने जिम्मेवारी बोकेका यी निकायको निष्क्रियताले गुणस्तरहीन पानी खुलेआम बिक्री भइरहेको उपभोक्ताको आरोप छ।
उपभोक्ता तथा स्थानीयवासीले दोषी कम्पनीमाथि तत्काल कडा कारबाही, उत्पादन रोक्का र सार्वजनिक माफीको माग गरेका छन्। साथै, बजार अनुगमनलाई नियमित र कडा गुणस्तर नियन्त्रण नीति लागू गर्नुपर्ने दबाब पनि बढेको छ।
यस घटनाले नेपालको बोतल पानी उद्योगको विश्वसनीयता र सरकारी नियमन प्रणालीमा गम्भीर प्रश्न उठाएको छ।
घटनाबारे कम्पनीका सञ्चालक विजय यादव संग सम्पर्क गर्दा फोन उठेन ।




